जनप्रतिनिधिमाथि कुटपिट, आरोपित विरुद्ध उजुरी

  ०७९ असार ७ गते

सिंजा गाउँपालिका–२ का ३५ वर्षीय वडाध्यक्ष तीर्थ वडलाई सोही गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका नेता देवलसिंह रावलले असार ५ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

आफूलाई पूर्व अध्यक्ष रावलले बहालवाला अध्यक्षकै कार्यकक्षमा कुटपिट गरेको भन्दै वडाध्यक्ष वडले असार ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । मदिरापान गरेर कार्यालयमा छिरी शुरुमा तल्लो तलामा शिक्षक ३९ वर्षीय लालप्रसाद तिवारीलाई हातपात गरेका हुन्,” उहाँले भन्नुभयो, “त्यसपछि उनले अभद्र तरिकाले गाली गर्दै अध्यक्षको कार्यकक्षमा आएर ममाथि दुई पटक हाने र ४२ वर्षीया उपाध्यक्ष सितली रोकायालाई पनि अभद्र व्यवहार गरेका हुन् ।” पूर्व अध्यक्ष रावलले कर्मचारी र सेवाग्राहीलाई धम्क्याएको आरोपसमेत वडाध्यक्ष वडले लगाउनु भयो ।

पूर्व अध्यक्ष रावलले कार्यालय बसेको आफ्नो घर भएको र हाल निर्वाचित जनप्रतिनिधिले त्यसलाई ध्वस्त बनाउन खोजेको आरोप लगाउनुभयो । चुनाव जितिसकेपछि वर्तमान अध्यक्षले राजनीतिक मुद्दा बनाएर धेरै निहुँ खोजेपछि त्यो घटना भएको उहाँले स्वीकार गर्नुभयो । तपाईले कार्यकक्षमा नै वडाध्यक्षमाथि हातपात गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ त भन्ने प्रश्नमा पूर्व अध्यक्ष रावलले भन्नुभयो, “प्रहरीमा आज छलफल भइरहेको छ, सके मिल्ने हो, नसके मैले पनि उनीहरूको विरुद्ध उजुरी दिन्छु ।”

गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले पूर्वअध्यक्ष रावलले अभद्र र घृणित काम गरेको भन्दै कार्यपालिकाको बैठक बसेर खेद प्रकट गर्नुका साथै दोषीउपर कारवाहीको माग र सुरक्षाका दृष्टिले कार्यालय सार्ने निर्णय गरिएको बताउनु भयो । “कार्यकक्षमै हातपात गरेको उजुरी गर्दा पनि प्रहरी प्रशासन उनलाई पक्राउ गर्न मानेको छैन,” अध्यक्ष धितालले भन्नुभयोे, “कुनै कमजोर व्यक्तिले त्यस्तो गल्ती गरेको भए एकै पटक प्रहरी प्रशासनले हिरासतमा पुर्याउँथ्यो होला ।” बोलवालाको पक्षमा प्रशासनले निरीहता देखाएको भन्दै उहाँले रोष प्रकट गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले स्थानीय सरकारको आफ्नो अधिकार भित्रका विषय भएको बताउँदै घटनाको विषयमा बुझ्न कार्यालयका सुब्बा मधुशंकर उपाध्यायलाई पठाइएको जानकारी दिनुभयो । घटनाको सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाउने प्रजिअ प्रसाईको भनाई छ । डिएसपी नरेन्द्र चन्दले असार ६ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी आएको भन्दै त्यसबारे बुझ्न प्रहरी निरीक्षकलाई त्यसतर्फ पठाइएको तर पूर्व अध्यक्ष रावललाई नियन्त्रणमा नलिएको बताउनुभयो ।


मानदत्त रावल