जनप्रतिनिधिद्वारा पत्रकारमाथि कुटपिट

  ०८१ कात्तिक ११ गते

भोक्राहा नरसिंह गाउँपालिका-५ का २८ वर्षीय पत्रकार तजमुल मियाँले बाढी प्रभावितहरूको विषयमा लेखिएको समाचारलाई आधार बनाइ जनप्रतिनिधिले कुटपिट गरेको आरोप लगाउनु भएको छ ।

जासुस खबरमा प्रमुख समाचारदाताका रूपमा कार्यरत मियाँले आफूलाई भोक्राहा नरसिहं गाउँपालिकाका अध्यक्ष ५० वर्षीय अजमल अख्तर आजादले ०८१ कात्तिक १० गते कुटपिट गरेको आरोप लगाउनु भएको हो ।

सार्वजनिक बिदाका दिन कात्तिक १० गते भोक्राहा नरसिहं गाउँपालिका-२ को बाढी प्रभावितहरूको विवाद छलफलका लागि गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद मियाँले गाउँपालिकाको कार्यालय खोली केही बाढी प्रभाविहरूलाई बोलाइएको विषयमा समाचार सङ्कलन गर्दा कुटपिट गरेको पीडित पत्रकारको आरोप छ ।

सार्वजनिक बिदाका दिन बाढी प्रभावितहरूलाई गाउँपालिकाको कार्यालयमा बोलाएपछि समाचार सङ्कलन गर्न पुग्दा गाउँपालिका अध्यक्ष अजमल मियाँले मोवाइल खोसेर कुटपिट गरेको पीडित पत्रकार तजमुल मियाँले बताउनु भयो ।

गाउँपालिका अध्यक्षको कुटपिटबाट टाउकामा चोट लागेपछि न्यूरो सप्तकोशी अस्पताल, भोक्राहा नरसिंह गाउँपालिका-४ मा उपचार भइरहेको छ ।

घटनापछि आर्यन मिडिया प्रालिले समाचारदाता तजमुलमाथि भएको कुटपीट र दुर्व्यवहारको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ ।

गाउँपालिकाका अध्यक्ष आजादले आफूले कुनै पत्रकारलाई कुटपीट नगरेको बताउनु भएको छ । सार्वजनिक बिदाका बेलामा आफूहरू आन्तरिक केही विषेश छलफलमा जुटेको बेला अनावश्यक रूपमा प्रवेश गरि फोटो खिच्न खोजेपछि त्यसो नगर्न आग्रह मात्र गरिएको गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद मियाँको भनाइ छ ।

घटनाको विषयमा  मौखिक जानकारी आएको र थप कुरा बुझ्ने काम भइरहेकाले अहिले नै के भएको भन्ने बारेमा प्रष्ट नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद तिमिल्सिनाले बताउनु भएको छ ।

त्यसैगरी जासुस खबरमा कार्यरत भोक्राहा नरसिंह गाउँपालिका-७ का २१ वर्षीय पत्रकार रविन्द्र यादवले समाचारको विषयलाई लिएर ज्यान मार्ने धम्की आएको आरोप लगाउनु भएको छ ।

समाचारको विषयलाई लिएर कोशी गाउँपालिका-२ का रामचन्द्र यादवका २८ वर्षीय छोरा रोशन यादव(विन्दास रोशन)फेसबुक आइडीबाट ज्यान मार्ने धम्की आएको पीडित पत्रकारको आरोप छ ।

कोशी गाउँपालिका-२ मा पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्की आएको विषयमा ०८१ कात्तिक ८ गते जासुस खबरमा प्रसारित समाचारको विषयलाई लिएर यादवले कात्तिक ९ गते ज्यान मार्ने धम्की दिएको पीडित पत्रकार रविन्द्र यादवले बताउनु भयो ।

फेसबुकमा म्यासेन्जर कुराकानी र अडियो पोष्ट गरेर  धाकधम्की दिएकाले आफु असुरक्षित भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षासहित दोषीलाई कारबाहीको माग गर्दै पीडित पत्रकारले निवेदन दिनु भएको छ ।

पत्रकार यादवले नेपाली काङ्ग्रेस पार्टीको कोशी गाउँपालिका-२ वडा सम्मेलन कार्यक्रममा सरकारी गाडी दुरूपयोग गरेको विषयमा समाचार लेख्दा ज्यान मार्ने धम्की आएको पीडित पत्रकारको भनाइ छ ।

घटनाको विषयमा निवेदन आएको र थप कुरा बुझ्ने काम थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद तिम्ल्सनाले बताउनु भएको छ ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।

 Phtoto 20241026 Sunsari (2)Phtoto 20241026 Sunsari (1)

Photo 20241027 Sunsari


जयकृष्ण यादव