जनप्रतिनधिलिाई राजिनामा दिन विप्लवको उर्दी

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जाजरकोटका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीलाई राजिनामा दिन भन्दै पत्राचार गरेको छ । भेरी कर्णाली स्वायत्त प्रदेश जिल्ला जनपरिषदको लेटरप्याडमा पत्र काटेर राजिनामा गर्न भनिएको हो ।

जिल्ला जनपरिषदका अध्यक्ष हरिचन्द्र जैसी अनुकूलद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ-'सिंहदरबारदेखि स्थानीय गाउँटोलसम्म भ्रष्टाचारी, कालोबजारी तथा सामाजिक दलाली, गुण्डागर्दी, लुटपात, आतङ्क तपाईँ र तपाईँको सरकारको प्राथमिकतामा रहेको स्पष्ट छ । आफैँ सरकार प्रमुख, आफैँ ठेकेदार र आफैँ व्यवसायी तपाईँको चरित्र हो । यस्तो अवस्थामा जनताले राज्यबाट सेवा सुविधा पाउने भन्दा झन् प्रताडित बनाउने काम भएको छ ।'

'मुलुकभर जनताको सरकार स्थापित गरेर जनताको सेवा, राष्ट्रिय स्वाधिनता, सामाजिक सुरक्षा सहितको विकास र समृद्घकिो आधार तय गर्नको लागी तपाईले आफ्नो पदबाट राजिनामा दिई  जनताको सरकारलाई सहयोग गर्न विनम्र आग्रह गर्दछौं । अन्यथा उत्पन्न हुने परिस्थितीको जिम्मेवार तपाई स्ंवयम हुनुपर्नेछ ।'-पत्रमा लेखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको जिल्ला जनपरिषद्ले जाजरकोटका सात वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरूलाई पत्र लेखेर राजिनामा गर्न आग्रह गरेको नेकपाका जिल्ला इञ्चार्ज प्रेम वली धमिलले बताए ।

उनले भने- 'वडास्तरका सबै निर्वाचित जनप्रतिनिधीहरूलाई राजिनामा गर्न लगाएर जनसरकार चलाउने गरी देशैभर अभियान थाल्ने योजना रहेको छ । नेकपाले अहिले जनसरकार र अदालत स्थापना गरेर काम थालिसकेको छ ।'


दिनेशकुमार श्रेष्ठ