जनताको स्वास्थ्य अधिकारको रक्षा गर्न इन्सेकको आग्रह

आफ्ना माग पूरा नभएको भन्दै डाक्टरहरुले गत शुक्रबारदेखि गरेको आन्दोलन र स्वास्थ्य सेवा बन्द गरिएको घटनाप्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

'बिरामीको उपचारको क्रममा ज्यान गए उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने कानुन बनाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै नेपाल चिकित्सक सङ्घको आह्वानमा देशभरका स्वास्थ्य संस्था अनिश्चितकालीनरुपमा बन्द गरिँदा बिरामी उपचार सेवाबाट वञ्चित भएका छन् ।'-इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा असोज ९ गते जारी विज्ञप्तिमा भनिएको छ ।

उपचारको क्रममा बिरामीको ज्यान गए उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने कानुन नबनाइने नेपाल सरकारले बताएको भए पनि चिकित्सकलाई हातपात गर्नेमाथि तत्कालै जेल सजाय हुनुपर्नेलगायतका कानुन नबुन्जेलसम्म हड्ताल जारी रहने चिकित्सक सङ्घले जनाएको छ ।

'अत्यावश्यक सेवा सञ्चालन ऐनमा स्वास्थ्य सेवा बन्द गर्न नपाइने व्यवस्था छ । स्वास्थ्य संस्था बन्द गर्ने जस्तो अमानवीय कार्य नेपालको संविधान तथा कानुनको ठाडो उल्लङ्घन हो । कानुन भन्दा माथि कोही हुँदैन तर हाम्रो देशमा कानुनको उल्लङ्घन गर्ने कार्यलाई बहादुरी मानिने प्रचलन बढ्दै गएको र यस्ता कार्यले दण्डहीनतालाई प्रश्रय दिएको छ ।'-विज्ञप्तिमा भनिएको छ ।


अनलाइन डेस्क