जनकपुर बम काण्डका आरोपित साहलाई ११ वर्ष कैद सजाय

  ०७८ कात्तिक १६ गते

२०६९ वैशाख १८ गते मिथिला राज्य माग गर्दै जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकमा धर्ना दिई रहेको मिथिला राज्य सङ्घर्ष समितिको शान्तिपूर्ण आन्दोलनमा शक्तिशाली बम विस्फोट गराएको आरोपमा जनकपुरधाम उपमहागरपालिका–२ कमदचोक बस्ने पूर्व स्थानीय विकास राज्यमन्त्री तथा तत्कालिन सभासद ४७ वर्षीय सञ्जयकुमार साह (टकला) लाई कात्तिक १५ गते उच्च अदालत जनकपुरधामले ११ वर्षको कैद सजायको फैसला गरेको छ ।

विक्की दास कथबनियाले दिएको मुद्दामा बहस गर्दै न्यायधीशद्वय धिरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासले पूर्वमन्त्री साहलाई ज्यान मार्ने मुद्दामा षडयन्त्र गरेको ठहर गर्दै कात्तिक १५ गते ११ वर्ष कैद सजायको फैसला भएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खडगराज अधिकारीले बताउनुभयो ।

२०६९ साल वैशाख १८ गते रामानन्दचोकमा मिथिला राज्य सङ्घर्ष समितिको धर्नामा बम विस्फोटमा परेर पाँच जनाको मृत्यु हुनुको साथै ४० जनाभन्दा बढी घाइते भएका थिए ।

बम विस्फोट घटनामा साहलाई मुख्य योजनाकार बनाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योग र ज्यान मार्ने षड्यन्त्र गरी दुई ओटा मुद्दा चलाइएको थियो ।

जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री टकलालाई जन्मकैद सजाय सुनाएको थियो । आरोपित साह काठमाडौँको नक्खु कारागारमा रहेको प्रहरीले जनाएको छ ।


दिपेन्द्रप्रसाद सिंह