बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार

  ०७९ साउन २४ गते

१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २१ गते दिउँसो जङ्गलमा अलपत्र छोडेर हिँड्दा मृत्यु भएपछि प्रहरीले दिपकलाई गिरफ्तार गरेको हो ।

पत्नी सरस्वती परियार मेलापात गएको समयमा छोरीलाई आमासँग दुध खुवाउन भन्दै घरबाट छोरी लिएर हिँडेका दिपकले बेनी नगरपालिका–१ अर्जमको जङ्गलमा अलपत्र छोडिदिएको पीडित पक्षको आरोप छ ।

परिवार र स्थानीयको सहयोगमा बालिकाको खोजी गरिएको भएपनि २४ घण्टापछि २२ गते दिउँसो कठ्याङ्ग्रिएको अवस्थामा बालिकालाई फेला पारिएको थियो ।

पीडित बालिकाको उद्दारपछि उपचारका लागि धौलागिरी अस्पताल बागलुङमा उलगिएकोमा केही समयपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

बालिकाकी २५ वर्षीया आमा सरस्वतीले पति दीपक बोहोराविरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा असार २३ गते ज्यानसम्बन्धी कसुर शीर्षकमा उजुरी दिनु भएको छ ।

शव पोस्टर्माटमका लागि साउन २३ गते पोखरा पठाइएको छ । धौलागिरी अस्पताल बागलुङमा बालबालिकाको पोस्टमार्टम गर्नको लागि विशेषज्ञ नभएको हुँदा पोखरा पठाइएको धौलागिरी अस्पताल बागलुङका निमित्त प्रमुख डाक्टर अविशेष वाग्लेले बताउनु भयो ।


सिर्जना पन्त