छोरी हत्याकी कसुरदार आमा गिरफ्तार

  ०७९ वैशाख ९ गते

हनुमाननगर कङ्कालीनी नगरपालिका–७ की दुई वर्षीया प्रमिलाकुमारी मण्डलको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीया आमा रानीदेवी मण्डललाई वैशाख ८ गते गिरफ्तार गरेको छ ।

जन्मकैदको सजाय पश्चात ‘फरार’ रहेकी आरोपितलाई राजगढ गाउँपालिका–५ स्थित प्रेमी शिवशङ्कर मालीको घरमा बसिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको हो ।

मण्डललाई ठहर भएको कैद भुक्तानको लागि राजविराजस्थित कारागार पठाइएको डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

तत्कालिन जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले ०७५ फागुन १५ गते रानी र रानीका प्रेमी राजगढ गाउँपालिका–१ मलेकपुरका २९ वर्षीय शिवशङ्कर मालीलाई जन्मकैदको सजाय गरी शव दबाउने अभिप्रायले खोलामा बगाएकाले थप ६ महिना कैद सजायको फैसला गरेको थियो ।

रानीका पति ३४ वर्षीय सुर्यनारायण मण्डलले सउदी अरवबाट ०७३ साउन १६ गते घर फर्कने बताएपछि साउन १२ गते नै कान्छी छोरी प्रमिलासहित रानी सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा साउन ३० गते सुर्यले उजुरी दिनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले ०७३ साउन ३० गते उजुरी दर्ता गरी खोजतलाश गर्दा ०७३ असोज १२ गते रानीलाई प्रेमी शिवशङ्करसहित प्रहरीले गिरफ्तार गरेको थियो ।

गिरफ्तार आरोपितहरूले दुई वर्षीया प्रमिलालाई ०७३ साउन १२ गते हत्या गरी हनुमानगर–राजबिराजस्थित सडक खण्डको खाँडो खोलामा आएको बाढीमा फाली ‘बेपत्ता’ पारेको वयान दिएपछि प्रहरीले कर्तब्य ज्यान मुद्दामा कारवाही अगाडि बढाएको थियो ।

तत्कालिन जिल्ला न्यायाधीश राजेश काफ्लेको आदेशले आरोपितहरू ०७३ कात्तिक ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

थुनामा परेका आरोपितहरू पुनरावेदन अदालतको आदेशमा धरौटीमा रिहा भएपछि राजगढ गाउँपालिका–५ मा बस्दै आएका थिए ।

शिवशंकर माली र पत्नी रानी मण्डलविरुद्ध शिवशङ्करकी भाउजु राजगढ गाउँपालिका–५ मलेकपुरकी ४२ वर्षीया बीनादेवी मालीलाई विष खुवाई हत्या गर्ने प्रयास गरेको आरोप समेत छ ।

आरोपितहरूसहित ससुरा ५५ वर्षीय रामदेव माली र ५० वर्षीया पत्नी चन्दनदेवी मालीले ०७६ साउन १२ गते विष खुवाई हत्या गर्ने प्रयास गरेको भन्दै पीडित बीनाका बुबा कञ्चनरुप नगरपालिका–२ बरमझियाका ६५ वर्षीय खुशीलाल मालीले ०७६ साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पटक–पटक घरेलु हिंसा गर्नेगरेका आरोपितहरूले अलग्गै छुट्टिएर बसेकी पीडित बीनालाई एकाबिहानै ढोका खोल्न लगाई किटनाशक विषादी खुवाएर ज्यान मार्ने उद्योग गरेको पीडितले बताउनु भयो ।

पीडितको उपचार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०७६ साउन १८ गतेसम्म गरिएको थियो ।

सामाजिक परम्पराअनुसार २३ वर्षअघि लालबिहारी मालीसँग विवाहिता पीडितको २० वर्षीया छोरी र १६ वर्षीय छोरा छन् ।

लालबिहारी प्रहरी हवल्दार हुन् । जिल्ला प्रहरी कार्यालयले आरोपित रामदेव र चन्दनदेवीलाई ०७६ साउन १५ गते गिरफ्तार गरी साउन १६ गते उजुरी दर्ता गरेको थियो ।

जिल्ला अदालतले ०७६ भदौ १० गते आरोपित रामदेव र चन्दनदेबीलाई जनही ६० हजार रुपियाँ धरौटी लिई पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो ।

शिवशङ्कर र रानीलाई वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको थियो । उनीहरू पछिल्लो समय गाउँघरमै बस्दै आएका थिए ।


मनोहरकुमार पोखरेल