छोरी बलात्कारको कसुरमा ४३ वर्ष कैद फैसला

१४ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ३८ वर्षीय बाबुलाई जिल्ला अदालतले फागुन २० गते ४३ वर्ष कैद, पाँच लाख रुपियाँ जरिबाना, पचास हजार रुपियाँ क्षतिपूर्ति र २८ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट छोरीलाई हाडनाता करणी कसुरमा २५ वर्ष र बलात्कार कसुरमा १८ वर्ष कैद समेत गरी ४३ वर्ष कैदसंगै उक्त जरिवाना, क्षतिपूर्ति र पीडित राहत कोषमा तिर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

मुलुकी अपराध सहिंता २०७४ को दफा २२० को उपदफा २ (क) मा उल्लेखित ‘जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद’ र दफा २१९ मा पीडित महिलाको उमेर हेरी सजाय सजाय हुने व्यवस्था अनुसार उपदफा ३ (ख) मा लेखिए अनुसार ‘१० देखि १४ वर्ष उमेरकी बालिकालाई करणी गरेमा १८ देखि २० वर्ष कैद हुन्छ’ भन्ने कानूनी व्यवस्था अनुसार एकै मुद्दामा जन्मकैद र थप सजाय समेत ४३ वर्ष कैद गरिएको फैसलामा उल्लेख छ ।

आफ्नै बुबाले ०८० वैशाख २३ गते ती छोरीलाई बलात्कार गरेको भन्दै वैशाख २३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले त्यही दिन घरबाटै गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २३ गते जिल्ला अस्पतालमा भएको थियो ।

स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडित बालिकाको बयान लगायतको प्रमाणका आधारमा प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालयले ०८० जेठ १६ गते जिल्ला अदालतमा हाडनाता करणी सम्बन्धी अभियोग दर्ता गराएको थियो ।

अभियोग सम्बन्धमा जेठ १६ गते नै भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालकै इजलासबाट कसुरदारलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । पीडित बालिकाले बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको व्यहोरा अदालतले लिइएको बकपत्रमा दोहो¥याएर भनेकी थिइन् ।

Photo20240303Dailekh


अमर सुनार