'छोरी बचाउँ, छोरी पढाउँ' अभियान मार्फत छोरीलाई प्रोत्साहन गर्दै स्थानीय तह
विजयनगर गाउँपालिकाले पहिलो सन्तानको रूपमा छोरी पाउने नागरिकलाई बैङ्क खातामा पैसा जम्मा गर्ने गरेको छ । गाउँपालिकाले 'छोरी बचाउँ, छोरी पढाउँ' अभियान मार्फत परिवारमा पहिलो जन्मिने छोरीका नामको बैङ्क खाता सञ्चालन गरी पहिलो वर्ष १५ हजार रुपियाँ बचत गर्ने कार्यक्रम ल्याएको हो ।
सामुदायमा छोरीप्रति हुने विभेद अन्त्य गर्न र छोरीको सम्मानका लागि स्थानीय तहले २०७८ सालदेखि सो योजना ल्याएको थियो । समाजमा रहेका छोरी चेलीप्रतिको नकारात्मक मनोवृतिलाई निश्तेज पार्न विजयनगर गाउँपालिकाले छोरी बचाउँ, छोरी पढाउँ अभियान चलाएको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बताउनु भयो । विजयनगर गाउँपालिका–२, जर्लैयाकी रिता यादवले पहिलो सन्तान छोरी राधिका यादवको नाममा बैङ्कमा खाता खोलिएको र खातामा गाउँपालिकाले १५ हजार रुपियाँ जम्मा गरिदिएको बताउनु भयो । यादवले भन्नुभयो, 'गाउँपालिकाले छोरीको खातामा रकम दावीका लागि बनाइएको सबै मापदण्ड पूरा गरी छोरीको नाममा १५ हजार रुपियाँ र थप ५ हजार रुपियाँ खातामा जम्मा भएको छ ।'
यादवले समाजमा छोरीमाथि गरिने विभेदलाई हटाई छोरीहरूको उज्ज्वल भविष्यका लागि गाउँपालिकाले महत्त्वपूर्ण कार्य गरेको भन्दै गाउँपालिकाको प्रसंशा गर्दै यस्ता कार्यक्रमले छोरीप्रति कत्तिको सम्मान गर्नुपर्छ भन्ने कुराको बोध गराएको बताउनु भयो । गाउँपालिकाले नियमित विद्यालय जान र शिक्षाप्रति आकर्षित गर्न हरेक वर्ष कक्षा ६ भन्दामाथि अध्ययनरत छोरीहरूको प्रोत्सहनका लागि साइकल, शैक्षिक सामग्री र छात्रावृत्ति वितरण लगायत योजना ल्याएर अगाडि बढिरहेको गाउँपालिकाका अध्यक्ष थापाले बताउनु भयो ।
विजयनगर गाउँपालिकाले चलाएको यो अभियानप्रति यहाँका स्थानीय आकर्षित भएका छन् । गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा ३३ जना, २०७९/८० मा ७५ जना र अ.व. २०८०/८१ मा ५६ जना छोरीको बैङ्क खातामा एकमुष्ठ रकम जम्मा गरेको छ । छोरी बचाउँ, छोरी पढाउँ अभियान अन्तर्गत तीन वर्षमा गरी १ सय ६४ जना दम्पतीका पहिलो छोरीका नामको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका सूचना अधिकारी हिमलाल पौडेलले बताउनु भयो । गाउँपालिकाको यस अभियानले लैङ्गिक समानता कायम गर्ने पूर्ण विश्वास लिएको छ । छोरीहरू पछिल्लो समय विविध घरायसी कारणबाट शिक्षाको पहुँचबाट वञ्चित हुन पुगेका र बिचैमा विद्यालय छाड्नेहरूको अहिलेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले छोरी बचाउँ, छोरी पढाउँ अभियान सञ्चालनमा ल्याएको गाउँपालिकाका सूचना अधिकारी पौडेलको भनाइ छ ।
आगामी दिनहरूमा छोरा र छोरीबीचको भेदभाव अन्त्य गर्नका लागि यस अभियानले ठूलो मद्दत गर्ने गाउँपालिकाको विश्वास रहेको छ । गाउँपालिकाका अध्यक्ष थापाले बचतका माध्यमबाट भविष्यको आर्थिक बोझ कम गर्ने गरी छोरीप्रति गरिने व्यवहार परिवर्तन गर्नका लागि सहज हुने बताउनु भयो । छोरा र छोरी समान हुन भनने सन्देश सहित सरल र सहज जीवन निर्वाह गरी आत्मसम्मानका साथ बाँच्ने वातावरणको श्रृजनाका लागि पहिलो सन्तानको नाममा रहेको बैङ्क खातामा गाउँपालिकाले एकमुष्ठ १५ हजार रुपियाँको दरले रकम जम्मा हुने गरेको उहाँले बताउनु भयो । अध्यक्ष थापाले भन्नुभयो, 'परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले १५ हजार बचत गर्छ । त्यो शिशुको परिवारलाई पनि अनिवार्य कम्तिमा ५ हजार अनिवार्य वा त्योभन्दा बढी रकम जम्मा गर्न लगाइन्छ ।' बैङ्कमा जम्मा गरिएको रकम २० वर्षका लागि बचत गरिने र छोरी २० वर्ष पुग्दा उच्च शिक्षाका लागि प्रयोग गर्न सकिने उद्देश्यले यो कार्यक्रम अघि सारिएको उहाँको भनाइ छ ।
यस्तै गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले यस अभियानले बाल विवाहको अन्त्य गरी समाजमा छोरा र छोरीबीच समानता कायम गर्न मद्दत पुग्ने बताउनु भयो । छोरीको बिहेवारी गर्दा लाग्ने खर्चमा केही राहत हुने बताउँदै ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनीहरूको भविष्य सुन्दर बनाउन यो कार्यक्रम ल्याइएको उपाध्यक्ष चौधरीले बताउनु भयो । स्थानीय तहभित्र बसोबास भएका विवाहित दम्पतीबाट जन्मिएका पहिलो छोरीलाई बुझ्नुपर्ने बताउँदै पहिलो, दोस्रो वा सो भन्दा बढी सन्तान छोरा भएकोमा सोपछि जन्मिएको पहिलो छोरीलाई समेत कार्यक्रम लागु हुनेछ । गाउँपालिकाले एकमुष्ठ बीउ पुँजीको रूपमा जम्मा गर्छ । सो कोषमा अभिभावकले आफ्नो इच्छा अनुसार थप रकम जम्मा गर्न सक्ने प्रावधान राखिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को अधिकार प्रयोग गरी स्थानीय तहले निर्देशिका बनाइ लागु गरेको छ । स्थानीय तहले छोरी बचाउँ, छोरी पढाउँ अभियान सञ्चालन निर्देशिका २०७८ मा सञ्चालन गरेको छ ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा १५ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय गौरले ०८१ भदौ २८ गते गिरफ्तार गरेकाे छ । आराेपित बालकले भदौ २८ गते बालिकालाई बलात्कार गरेकाे भन्दै…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परोह नगरपालिका-८ मोतीपुर नरकटिया टोल की २९ वर्षीया लालु कुमारी पटेललाई साेही टोल निवासी पत्रकार ३५ वर्षीय अभिमन्यु पटेल, निजका भाइहरू ३३ वर्षीय राकेश पटेल, र ३० वर्षीय मुकेश पटेलले कुटपिट…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका–२ का २२ वर्षीया दिलिप राईलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको भन्दै…
तालाबन्दीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालयमा शैक्षिक गतिविधि ठप्प
भरतपुर महानगरपालिका-१६ मा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा लगाइएको ताला नखुलाउँदा दुई सातादेखि शैक्षिक गतिविधि ठप्प भएको छ । सत्तारूढ दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका भ्रातृ…
पत्नीको हत्या, हत्यापछि पतिद्वारा आत्महत्याको प्रयास
महालक्ष्मी नगरपालिका-१ कटहरेकी २६ वर्षीया सरिता दर्जीको २९ वर्षीय पति विजय दर्जीले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पत्नीको हत्यापछि विजयले समेत आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी…