छोरीको हत्या गरेको आरोपमा आमा गिरफ्तार

  ०८१ भदौ २४ गते

२३ महिनाकी छोरी प्रिन्सिका भन्डारीको हत्या गरेको आरोपमा प्रहरीले काभ्रे जिल्ला पनौती नगरपालिका–३ घर भई कोन्ज्योसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारीलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।

प्रमिलाले ०८१ साउन २७ गते साँझ ५ बजेतिर आफ्नै घरबाट २३ महिनाकी छोरी प्रिन्सिका भन्डारी हराएको भन्दै प्रहरी वृत्त चापागाउँमा निवेदन दिएकी थिइन् । हराएकी बालिकाको खोजतलास गर्ने क्रममा साउन २८  गते बिहान साढे ८ बजेतिर उनको घर नजिकै सिलिङ्गेबेसी आँपबोटमा रहेको ठोस्ने खोलामा बालिकाको शव भेटिएको थियो ।

पानीमा डुबेको रुखको हाँगामा अड्किएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम साउन २८ गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनु भयो ।

शवको प्रकृति र पोष्टमार्टम रिपोर्ट शङ्कास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाउने क्रममा आमा प्रमिलाले छोरीको हत्या गरेको खुलेको पाइएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताउनु भयो ।

आरोपितले छोरीलाई हिर्काउँदा बेहोस भएपछि खोलामा फालेको स्वीकार गरेको एसपी सुवेदीले बताउनु भयो ।


दीपकप्रसाद घिमिरे