छोराद्वारा खुर्पा पहार गरी बाबुआमाको हत्या, प्रहरीद्वारा आरोपित गिरफ्तार

ओमसतिया गाउँपालिका–४ सानो वालापुरमा ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खजना यादवलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले मृतकद्वयका ३२ वर्षीय कान्छा छोरा गोरख यादवलाई मङ्सिर २० गते आरोपितको घरबाटै गिरफ्तार गरेको छ ।

 

घरमा कोही नभएको मौका छोपी आरोपितले बाबुआमालाई खुर्पा प्रहार गर्दा बाबुको घटनास्थलमै मृत्यु भएको र आमाको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनुभयो ।

 

आरोपितले खुर्पा प्रहार गर्दा आरोपितका बाबु रामनारायण यादवको घाँटीमा तीन पटकसम्म हानेको चोट रहेको र आमाको दाहिने कोखामाथि र छातीको भागको पछाडी पट्टी गहिरो चोट लागेकोले मृत्यु भएको डिएसपी खत्रीले बताउनुभयो ।

 

रामनारायण घटना घटनुभन्दा केही छिन अगाडि मात्र छिमेकीको विवाह भोजमा गएर फर्कनुभएको थियो । अन्य दाजुभाई छुट्टिएर बसेको र बाबुआमा कान्छा छोरा गोरखसँग बसेका थिए ।

 

डिएसपी खत्रीले आरोपित मानसिक रोगी भएको र विगत चार वर्षदेखि मानसिक समस्याको औषधि सेवन गरिरहेको परिवारले भनेको र बेला बेलामा सम्पतिको विषयमा झगडा गर्ने गरेको सूचनाका आकधारमा प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको बताउनुभयो । शवको पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवामा राखिएको प्रहरीले जनायो ।


रीमा बि.सी.