छोराको हत्या गरेको आरोपमा बुबा र सौतेनी आमा गिरफ्तार

  ०७८ साउन १७ गते

रामगोपालपुर नपा–६ का पाँच वर्षीय रितेश यादवको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बुबा चन्द्रकिशोर यादव र २५ वर्षीय सौतेनी आमा रागनी मुखियालाई साउन १५ गते गिरफ्तार गरेको छ ।

रागनीलाई उनको माइती बटेश्वर गाउँपालिका–५ शान्तिपुरबाट र चन्द्रकिशोरलाई लुकिछिपी बसेको अवस्थामा गाउँबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश विष्टले बताउनु भयो ।

बालक रितेश साउन १३ गते साँझदेखि हराइरहेका थिए । बालक हराएपछि चारैतिर खोजतलास गर्दा साउन १४ गते बिहान घरभन्दा ५० मिटर पश्चिम हिरा साहको फुलबारीमा रहेको केराको बोट नजिक परालले छोपेको अवस्थामास्थानीयले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर, धनुषामा लगिएको छ । साउन १७ गते साँझसम्म शवको पोष्टमार्टम भएको छैन ।

चन्द्र किशोरले एक वर्ष पहिले रागनी मुखियासँग बहुविवाह गरेको स्थानीयले जानकारी दिएका छन् ।

रागनीसँग बहुविवाह गरेपछि परिवारमा खटपट हुँदै आएकोमा जेठी पत्नी रजनीले दुवै छोरालाई बुबाकै जिम्मामा छाडेर केही दिनदेखि माइतीघरमा बस्दै आएको पनि स्थानीयले बताए ।

दुई मध्ये जेठो छोराको शव शङ्कास्पद अवस्थामा भेटिएपछि स्थानीयले बुबा र कान्छी आमा मिलेर हत्या गरेको आरोप लगाएका छन् ।


अजयकुमार साह