छुट मुक्त कमैयाको लगत तत्काल लिन माग

दाङका मुक्त कमैयाहरूले १८ औँ मुक्ति दिवसका अवसरमा र्‍याली निकालेका छन् । जिल्ला भरबाट सदरमुकाम घोराही आइपुगेका मुक्त कमैयाहरूले विभिन्न माग लेखिएका प्ले कार्डसहित घोराही बजार परिक्रमा गरे । मुक्ति दिवस मनाउन आएका उनीहरूले मुक्ति पाएको १७ वर्षपुरा हुँदा पनि मुक्तिको महसुस गर्न नपाएको गुनासो गरे ।

Photo20170717Dang

'खान लगाउनेमात्रै होइन बस्ने बासको समेत टुङ्गो लागेको छैन ।'-मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीले भने-'बेवारिसे अवस्थामा जीवन बिताइरहेका छौँ । यसप्रति सरकार गम्भीर देखिएन ।'

Photo20170717Dang1

मुक्त कमैया पुनस्थापनाका लागि सरकारले खासै काम नगरेको आरोप लगाउदै मुक्त कमैयाहरूले तत्काल गास, बास र कपासको उचित प्रवन्ध गर्न माग गरेका छन् । मुक्तिको घोषणा गर्ने काममात्रै भएको उल्लेख गर्दै उनीहरूले सरकारले पुनःस्थापनाका लागि वषौँसम्म झुलाउने काम गरेको आरोप लगाए ।

Photo20170717Dang2

साथै अहिले पनि जिल्लामा ठूलो सङ्ख्यामा मुक्तकमैयाको लगत छुट भएको उनीहरूको गुनासो छ । सरकारले ०५७ र आव ०५८/०५९ मा लगत लिँदा सरकारी टोली गाउँसम्म पुग्न नसकेको र जिल्लामा ५ हजार ४६ जनाको लगत छुटेको भन्दै तत्काल छुट लगत लिन सरकारसँग माग गरेका छन् । लगत छुट हुँदा सरकारले दिएका सानातिना सुविधाबाट पनि वञ्चित हुनु परेको उनीहरूको गुनासो छ ।

Photo20170717Dang3

यसैगरी लालपुर्जा पाएर पनि जग्गा नपाएकाहरूलाई जग्गाको व्यवस्था गर्नुपर्ने, जग्गा पाएकालाई घर बनाउन काठको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य र रोजगारका लागि उचित पहल गरिनुपर्ने लगायतका माग मुक्त कमैयाले गरेका छन् ।

Photo20170717Dang4

यसैगरी दाङमा मुक्त कमैया महिलाहरूले पहिचानको माग गरेका छन् । मुक्त कमैयाहरूलाई जस्तै महिलाहरूलाई पनि परिचय-पत्रको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । मुक्ति दिवसका अवसरमा बोल्दै मुक्त कमैया महिला समाजकी जिल्ला अध्यक्ष कमलापति चौधरीले परिचय-पत्रको व्यवस्था गर्न सरकारसँग माग गरिन् । कमैयासँगै जमिनदारको घरमा काम गरियो, कमलापतिले भनिन्-'मुक्त कमैयालाई जस्तै महिलाहरूलाई पनि परिचय-पत्रको व्यवस्था गरिनुपर्छ ।'

Photo20170717Dang5

दाङमा करिब ४ हजार ३ सय मुक्त कमैया महिला छन् । मुक्त कमैया समाज दाङका अनुसार जिल्लामा १ हजार ४ सय २६ जनाले परिचय पत्र पाएका छन् । कार्ड पाएका मध्ये ७ सय ५ जनाले मात्रै जग्गाको लालपुर्जा पाएको र १७ जनाले लालपुर्जा पाएर पनि जग्गा पाउन सकेका छैनन् ।


जे.एन.सागर