छुट्टाछुट्टै मतपत्र छाप्न सुरु भइसक्योःनिर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहितले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा छुट्टाछुटै मतपत्र छाप्न सुरु भएको भनी लिखित जबाफ पेश गरेको राससले जनाएको छ ।

महान्यायाधिवक्ता कार्यालयमार्फत उपन्यायाधिवक्ता घनश्याम ओझाले दर्ता गरेको लिखित जबाफमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ अलगअलग मतपत्र छपाइको काम सुरु भइसकेको उल्लेख छ ।

जबाफमा अदालतको आदेशलाई सम्मान गर्दै बैतडी, बझाङ, दार्चुला, बाजुरा र जाजरकोट जिल्लाका मतपत्र छाप्नका लागि आयोगले कात्तिक १२ गते नै जनक शिक्षा सामग्री केन्द्र लि.लाई पत्र पठाइएको जनाइएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अलग अलग मतपत्र छाप्नुपर्ने माग गर्दै राष्ट्रिय जनता पार्टी नेपालका नेता सर्वेन्द्रनाथ शुक्लले दायर गरेको रिट निवेदनमा अदालतले गत असोज १९ गते आदेश जारी गरेको थियो ।

सो आदेशमा समानुपातिकतर्फ मतपत्र छापिसकिएकाले अदालतले अलगअलग मतपत्र छाप्नुपर्ने व्यवस्था भएको र यही कात्तिक १० गतेदेखि मतपत्र छापिने भएकाले संवैधानिक र कानुनी प्रावधान गम्भीरतापूर्वक लिने भएकाले अन्तरिम आदेश दिनुनपर्ने उल्लेख थियो ।

नेता शुक्लले यही कात्तिक ७ गते अदालतको आदेशको पालना नभएको जनाउँदै प्रमुख आयुक्तसहित पाँच आयुक्त र प्रधानमन्त्रीविरुद्ध अदालतमा अदालतको अपहेलनाको मुद्दा दर्ता गरेका थिए ।

सोही अपहेलना मुद्दाको सुनुवाइमा न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कात्तिक ८ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ अलगअलग मतपत्र छपाइको सुनिश्चितताको कार्य प्रगतिको तीन दिनभित्र लिखित जबाफ माग गरेको थियो ।

अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीका अनुसार प्रधानमन्त्रीले लिखित जबाफ पठाएपछि १५ गतेपश्चात् पेशी तोकिनेछ ।


अनलाइन डेस्क