छिन्चु–जाजरकोट सडक अवरुद्ध हुँदा बिरामीलाई स्वास्थ्य चौकी पुर्‍याउनै सास्ती

  ०८१ साउन ३२ गते

भेरी नगरपालिका-१३, कुदुदेखि खलङ्गा नजिक खहरेखोला भिर र छेडागाड नगरपालिका-१२, कालापहाड नजिक पहिरो जाँदा उक्त मार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । एक सातादेखि पटक पटक गएको पहिरोले उक्त मार्ग पूर्णरूपमा अवरुद्ध भएको सडक सञ्चालनमा नआएपछि बिरामीलाई उपचारको लागि स्वास्थ्य चौकी लैजान स्थानीयहरूले सास्ती खेप्नु परेको छ ।

Photo16082024Jajarkot

भेरी नगरपालिका–४ का स्थानीय रत्नबहादुर मल्लले सडकमा पहिरो झरेपछि विद्यार्थी, किसान, महिला, अपाङ्गता भएका व्यक्ति समस्यामा परेको बताउनु भयो । बिहानदेखि बाटो खुलाउन जेसिवीले काम गरे पनि हालसम्म नखुलेको उहाँको भनाइ छ । उहाँका अनुसार एक सातादेखि पटक पटक गएको पहिरोले मानवीय क्षति नभए पनि जिल्ला सदरमुकाम खलङ्गादेखि बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधन तथा यात्रु अलपत्र परेका छन् ।

भेरी नगरपालिका–४ का वडा अध्यक्ष बसन्तप्रसाद शर्माले सडकमा पहिरो खसेपछी बैकल्पिक बाटो नहुँदा बोहरागाउँका बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भएको बताउनु भयो । उहाँले महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्थामा उपचारका लागि जान निकै समस्या भएको बताउनु भयो । किसानले उत्पादन गरेका दुध, दही, तरकारी लगाएत खाद्यय सामाग्री ल्याउन निकै कठिन भएको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कर्यालयका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत छेडागाड नगरपालिका-१२, काडलापहाडदेखि तल्लुबगरसम्मको सडक खण्डको ठाँउ ठाँउमा पहिरो झरेपछि यात्रुलाई समस्या भएको छ । सडक डिभिजन कार्यालयको जेसिवीले पहिरो पन्छाउने काम गरेपनि अन्य ठाँउमा गएको पहिरो जेसिवी नहुँदा काम शुरु हुन नसकेको उहाँको भनाइ छ ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले छिन्चु–जाजरकोट सडक खण्डमा पहिरो खसेपछि सदरमुकामदेखि नेपालगञ्ज, सुर्खेत, काठमाडौँ जाने र आउने सवारी साधन पटक पठक गएको पहिरोले ठप्प भएको बताउनु भयो । उक्त राजमार्गसँगै स्थानीय सडकहरू अवरुद्ध भइ सञ्चालनमा ल्याउन आफूहरूले प्रयास गरिरहेको बताउनु भयो ।


बासुदेव शर्मा