छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित

  ०७९ साउन २२ गते

मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा नै दुर्व्यवहार गरको भन्दै ०७९ साउन २० गते सो विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।

दोषी शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीले विद्यालयमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले कक्षा कोठाका केही डेक्स बेञ्च समेत तोडफोड गरेका छन् ।

manthali MaVi

यस अघि पनि ती शिक्षकले पटक/पटक छात्राहरूलाई दुर्व्यवहार गर्ने गरेको गुनासो छात्राहरूले गरेको सोही विद्यालयमा अध्ययनरत छात्र डेनिस भण्डारीले बताउनुभयो ।

विद्यार्थीहरूले दुर्व्यवहार गर्ने शिक्षकलाई विद्यालयबाट हटाउनु पर्ने माग राखेका छन् । घटना सार्वजनिक भएको थाहा पाउने बित्तिकै शिक्षक विष्ट भागेका छन् ।

करार सेवामा नियुक्ति लिए शिक्षकको गतिविधिको बारेमा थाहा पाउने बित्तिकै आफूले फोन गर्दा फोन नउठाएको र शिक्षक बस्ने कोठामा समेत ताला लगाएको विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले बताउनुभयो ।

आरोपित शिक्षकको खोजीको लागि साउन २० गते नै प्रहरीलाई विद्यालयले पत्र पठाई सकेको उहाँले जानकारी दिनुभयो । तर, विद्यार्थीले आरोपित विरुद्ध लिखित उजुरी दिएका छैनन् ।

सोही विषयलाई लिएर साउन २२ गते विद्यालय व्यवस्थापन समिति बैठक बोलाइएको र बैठकमा आरोपित शिक्षकलाई निस्कासन गर्ने प्रस्ताव लैजाने दाहालले बताउनुभयो ।


नबराज पथिक