छाउगोठमा बसेकी बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असार ५ गते

छाउगोठमा बसेकी १६ वर्षीया बालिकालाई ०८१ असार ३  गते बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिकाका १७ वर्षीय बालकलाई ०८१ असार ४ गते गिरफ्तार गरेको छ ।

११ वर्षदेखि मामाघरमा बस्दै आएकी १६ वर्षीया बालिका ०८१ असार ४ गते विहान अचेत अवस्थामा छाउगोठमा भेटिएपछि स्थानीयहरुले प्रहरीलाई जानकारी गराएका थिए ।

स्थानीयहरुले घटनाका बारेमा जानकारी गराएपछि ईलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरी र पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने लगायतको टोलीले बालिकाको उद्धार गरी स्वास्थ्य उपचारका लागि जिल्ला अस्पताल, अछाम पठाएको र स्वास्थ्य चेकजाँचका क्रममा बालिकालाई बलात्कार गरिएको पुष्टिभएको जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी सन्तोष पाठकले बताउनु भयो ।

तीन चार जनाको सङ्ख्यामा आएका युवकहरुले आँखा र घाँटीमा कपडाले बाँधी बलात्कार गरेको कारण घटनामा संलग्नहरुको पहिचान गर्न नसकेको पीडित बालिकाको भनाइ छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको र पीडित बालिकाको स्वास्थ्य उपचार जिल्ला अस्पताल,मंगलसेनमा भइरहको समेत डिएसपी पाठकले बताउनु भयो ।

महिनावारी भएको समयमा छाउगोठमा बस्नु र बस्न लगाउनु कानुनी रुपमै दण्डनीय भएपनि महिनावारी भएको समयमा छाउगोठमा बस्ने क्रम रोकिएको छैन् ।

छाउगोठमा बसेका महिलाहरुले गोठ न्यानो बनाउन बालेको आँगोको धुँवाले निस्सासियर, चिसो लागेर र सर्पको टोकाइका कारण अछाम जिल्लामा मात्रै केही वर्षयता १४ जना महिलाहरुले ज्यान गुमाएका छन् ।


तपेन्द्र कुँवर