च्यातिएको त्रिपालमुनी कक्षा सञ्चालन, कक्षा ४ र ५ एउटै त्रिपालमा

भूकम्पले भत्किएको विद्यालय पुनर्निर्माणमा ढिलाइ हुँदा गोरखा नपा-२ मा रहेको को निमेल प्राथमिक विद्यालयका विद्यार्थी च्यातिएको त्रिपालमुनी बसेर कष्टपूर्वक पढ्न बाध्य भएका छन् ।

भूकम्पले विद्यालय भवन भत्किएपछि टाँगिएको त्रिपाल पनि च्यातिएपछि कक्षा ४ र ५ का विद्यार्थीको पढाइ कष्टकर बनेको हो ।

Photo20170320Gorkha

'४ र ५ को कक्षा एउटै त्रिपालमुनी सञ्चालन गरेका छौँ ।'- चैत ७ गते इन्सेक जिल्ला प्रतिनिधिसँग विद्यालयका प्रध्यानाध्यापक कपिलदेव तिवारीले भने-'एकातिर ४ वटा बेन्च राखेर कक्षा ४ र अर्कोतिर तीन वटा बेन्च राखेर ५ कक्षाका विद्यार्थी राखेका छौँ ।'

Photo20170320Gorkha1

कक्षाकोठा अभाव हुँदा एउटै शिक्षकले दुई वटा कक्षाका विद्यार्थी पढाउनुपरेको शिक्षक तिवारीले गुनासो गरे । 'एउटै कक्षामा दुई वटा शिक्षक पठाउने कुरो आएन । एउटै शिक्षकले दुई वटा कक्षाका विद्यार्थीलाई एकैपटक पढाउनुहुन्छ ।'-उनले भने ।

हुरी बतास र पानी आएको दिनमा कक्षा सञ्चालन नगर्ने गरेको पनि उनले बताए । 'वार्षिक परीक्षा नजिकिँदै छ । अव चौरमा राखेर परीक्षा लिनुको विकल्प छैन ।'-उनले भने ।

Photo20170320Gorkha2

निमेल प्राविमा २ र ३ कक्षालाई एउटै कोठा र १ र बाल कक्षालाई अर्को एउटा कोठामा राखेर अध्यापन गराउँदै आएको विद्यालयले जनाएको छ । बाल कक्षाका विद्यार्थी भुइँमा ओछ्याएको 'म्याट'मा बसेर पढ्ने गरेका छन् भने १ कक्षाका विद्यार्थी बेन्चमा बसेर अध्यापन गराइएको छ ।

Photo20170320Gorkha3

जिल्ला शिक्षा कार्यालयले भने भूकम्पले भत्काएको विद्यालय भवनहरू क्रमशः निर्माणको चरणमा रहेको जनाएको छ । 'धेरै विद्यालयका भवन भत्किएका छन् । हामी दाताको सहयोग र हाम्रै स्रोतको परिचालन गरी विद्यालय भवनहरू निर्माणको चरणमा छौँ ।'-जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले भने ।

Photo20170320Gorkha4


हरिराम उप्रेती