चेतनाको कमीले बालविवाह बढेको बढ्यै

दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खाकी कक्षा ९ मा अध्ययनरत १७ वर्षीया बालिकाको विवाह फागुन २६ गते भयो ।

विद्यार्थीबाटै विरोध आएपछि छात्राको पढाइलाई निरन्तरता दिने र उमेर नपुगेसम्म बच्चा नजन्माउने शर्तमा वैवाहिक कार्यक्रम अघि बढेको थियो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले भने-'अभिभावकले पढाइलाई निरन्तरता दिने, तत्काल बच्चा नजन्माउनेलगायतका शर्त मान्ने भएपछि विवाह नरोकिएको हो ।'

यसपालिको शैक्षिक सत्र सुरू भएयता उनीसहित महेन्द्रदोय मावि याम्खामा अध्ययनरत चार छात्रा र एक छात्र विवाह बन्धनमा बाँधिएका छन् । चेतनाको कमीले कलिलै उमेरमा विवाह गर्नेमा तीन छात्रा कक्षा ८, एक छात्रा कक्षा ९ र एक छात्र कक्षा १० का विद्यार्थी हुन् ।

यस वर्षउक्त गाउँपालिका-७ टेम्मास्थित कृष्ण माविका १० छात्रा र शान्ति माविका दुई छात्राले विवाह गरेका छन् । कृष्ण माविका कक्षा ७ का एक, कक्षा ८ का तीन, कक्षा ९ का पाँच र कक्षा १० की एक छात्रा विवाह बन्धनमा बाँधिएका हुन् ।

सानै उमेरमा विवाह गर्नेमा १४ वर्षदेखि १९ वर्षउमेरका छन् । कम उमेरमा विवाह गर्दा निम्तिने शारीरिक जोखिमको विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन भइरहँदा पनि दूरदराजका गाउँमा बालविवाहको दर घटेको छैन ।

खोटाङका अधिकांश विद्यालयमा अध्ययन गरिरहेका बालबालिका उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने गरेका छन् । पछिल्लो समय अभिभावक बालविवाहका विपक्षमा उभिन थाले पनि बालबालिकाले आफूखुसी भागेर विवाह गर्ने गरेको महिला प्रजनन् अधिकार कार्यक्रम सञ्चालन गरिरहेको वातावरणीय कृषि तथा विकास केन्द्र (केड) खोटाङका कार्यक्रम अधिकृत लोचन श्रेष्ठले बताए ।

'सचेतनामूलक कार्यक्रम भएकै ठाउँमा पनि बालविवाह पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । त्यसभन्दा बाहिरका ठाउँको अवस्था झन् विकराल छ ।'-श्रेष्ठले भने-'पहिला अभिभावकले बालविवाह गराउँथे । अहिले आफैँ गरिरहेका छन् । यसले शारीरिक र आर्थिक क्षति पुर्‍याइरहेको छ ।' विद्यालयबाहिरका बालबालिकाको विवाहदर झन् बढी हुनसक्ने अनुमान गरिएको छ ।

कम उमेरमा गरिने विवाहको बेफाइदाका विषयमा अभिभावक तथा बालबालिकालाई स्पष्ट बनाउन सके कम उमेरमा हुने विवाहलाई न्यूनीकरण गर्न सकिने श्रेष्ठको भनाइ छ ।

दुई नगरपालिका र आठ गाउँपालिकामध्ये ऐँसेलुखर्क गाउँपालिका-१ राखाबांदेलस्थित कालिका बालविकास माविमा कक्षा ८ र ९ मा अध्ययनरत चार छात्राले यसै शैक्षिक सत्रमा विवाह गरेका छन् ।

यस्तै, केपीलासगढी गाउँपालिका-६ दिप्सुङस्थित रेणु माविको माध्यमिक तहमा अध्ययतरत एक छात्र र पाँच छात्रासहित ६ जनाको यसै वर्षविवाह भएको छ । महिला प्रजनन् अधिकारका विषयमा कार्यक्रम सञ्चालन भइरहेको टेम्मा, याम्खा, ऐँसेलुखर्क र दिप्सुङबाहेक जिल्लाका अन्य वडाको अवस्था पनि उस्तै रहेको बताइन्छ ।

पढ्दापढ्दै विवाह बन्धनमा बाँधिने अधिकांश छात्र/छात्राले बिचैमा कक्षा छाड्ने गरेको कृष्ण मावि टेम्माका प्रधानाध्यापक खेम मगरले बताए । घरायसी कामलाई समय दिनुपर्ने र बालबच्चा जन्मिएपछि मन हुँदाहुँदै पनि पढाइ छाड्न बाध्य बनेको पाइएको छ । 'हाम्रो विद्यालयका विवाह गर्नेमध्ये दुई छात्राले मात्र अन्तिम परिक्षा दिएका छन् ।'-प्रअ मगरले भने-'यौन शिक्षाका विषयमा कुरा गर्नेलाई छाडा भनिन्छ । तर, त्यही यौन शिक्षाको कमीका कारण छात्रछात्राले उमेर नपुग्दै विवाह गरेका हुन् ।'

जिल्ला जनस्वास्थ्य कार्यालयले हालै १५ वडामा गरेको सर्वेक्षणमा पनि ३० प्रतिशत किशोरकिशोरीको २० वर्षनपुग्दै विवाह गरेको तथ्य फेला परेको छ ।  अभिभावकविहीन बन्नु, परिवारमा बढी स्वतन्त्रता पाउनु वा बढी कडाइ गरिनु, अभिभावक सोझासिधा हुनु, पढाइमा कमजोर हुनु, परीक्षामा अनुत्तीण हुनु, मोबाइल फोनको दुरुपयोगलगायतका कारण किशोर किशोरीले चाँडै विवाह गरेको जिल्ला स्वास्थ्य कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

कम उमेरमा गरिने विवाहका कारण महिला शारीरिक रूपमा कमजोरी हुने र गरिबी निम्त्याइरहेको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए ।  यसका साथै उमेर नपुग्दै विवाह गर्दा पाठेघरबाट रगत बग्ने, बच्चा जन्माउन गाह्रो हुने र पाठेघर खस्ने खतरा हुने डा. केसीले बताए ।


सुनिता मगर