चुनाव प्रचारका क्रममा एमाले र काङ्ग्रेस कार्यकर्ताबिच झडप

सिमकोट गाउँपालिका-८ खोल्टी गाउँमा स्थानीय तहको निर्वाचनका लागि सदरमुकामबाट गएको काङ्ग्रेसको अभियान टोलीले एमालेका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन खोजेपछि दुई पार्टीका कार्यकर्ताबिच वैशाख २७ गते झडप भएको छ ।

नेकपा एमालेका कार्यकर्ता दिलबहादुर सिंहलाई पार्टी प्रवेश नगरे काङ्ग्रेसका कार्यकर्ताले मार्ने धम्की दिएपछि मतदातालाई धम्की नदिन अनुरोध गर्दा काङ्ग्रेसका कार्यकर्तासँग झडप भएको एमालेका वडा अध्यक्षका उम्मेदवार हरिबहादुर शाहीले बताए ।

सोही ठाउँमा काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार दलबहादुर शाहीलाई नेकपा एमालेका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गरेपछि दुवै पार्टीका कार्यकर्ताबिच झडप भएको धारापोरी प्रहरी चौकीले जनाएको छ ।

धारापोरी प्रहरी चौकीका इञ्चार्ज शान्तबहादुर गुरूङका अनुसार एमाले कार्यकर्तालाई धम्की दिई पार्टी प्रवेश गराउन खोज्ने काङ्ग्रेसका कार्यकर्ता उज्जन शाही, अङ्गबहादुर शाही र मदन शाही फरार रहेका छन् ।


नन्द सिंह