चुनावी सभामा गएको भन्दै कुटपिट

  ०७४ मङ्सिर ४ गते

वाम गठबन्धनको चुनावी सभामा बाजा बजाएर सहभागी भएको आरोप लगाउँदै नेपाली काङ्ग्रेसका कार्यकर्ताले छेडागाड नगरपालिका-१२ कार्कीगाउँकी ४३ वर्षीया मन्दरी दमाई र ४२ वर्षीय भाइ पृथी दमाईलाई कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।

कार्कीगाउँकै मनघाटमा भएको वाम गठबन्धनको चुनावी सभामा बाजा बजाएको भन्दै काङ्ग्रेसका कार्यकर्ताले कुटपिट गरी घाईते बनाएको कले दमाईले बताए ।

उनीहरूले ''वाम गठबन्धन-मुर्दावाद ! नेपाली काङ्ग्रेस-जिन्दावाद' भन्दै घर घेरेर कार्यक्रममा किन गएको तिमीहरू ? आज तिमीहरूको लास पारिदिन्छौ भन्दै कुटपिट गरे ।'-कले दमाईले बताए ।

उनीहरूमाथि गत मङ्सिर १ गते घर भित्रै आएर काङ्ग्रेस कार्यकर्ताले लछारपाछार पारेर बाँसका लाठीले कुटपिट गरेको मन्दरीले आरोप लगाइन् ।

मन्दरी र पृथीलाई कुटपिट गर्ने काङ्ग्रेस कार्यकर्ता कांशीराम रोकाय, मेघ वादी, कांशीराम वादी, लालबहादुर शाही, मानबहादुर सिंह, विनोद शाही, टेकबहादुर शाही र दीप मल्ललगायत रहेको पीडितहरूले आरोप लगाएका छन् ।

पीडितहरूले आफूहरूलाई कार्यक्रममा सहभागी भएकै कारण कुटपिट गरिएको र कुटपिट गर्नेहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ४ गते उजुरी दर्ता गराएका छन् ।

पीडितको उजुरीका आधारमा आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराउन प्रहरी खटाइसकिएको र उनीहरू आइसकेपछि घटनाका बारेमा छानबिन गरिने प्रहरीले जनाएको छ ।

छानबिन पश्चात कारबाही प्रकृया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी भाबेश रिमालले बताए ।


दिनेशकुमार श्रेष्ठ