चुनावको विषयलाई कुटपिट गरेको पीडितको आरोप

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पाका ५४ वर्षीय टङ्क राईले सोही ठाउँका ३१ वर्षीय पूर्णकुमार राईले जेठ ११ गते राति कुटपिट गरेको आरोप लगाउनु भएको छ ।

आरोपितले घरमा सुति रहेको अवस्थामा कठालोमा समाएर कुटपिट गरेको पीडितको आरोप छ ।

स्थानीय तह सदस्य निर्वाचनको विषयलाई लिएर आरोपितले कुटपिट गरेको पीडित राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा पूर्व सांसद टङ्क राईलाई कुटपिट गरेको घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै गठवन्धनका नेता तथा कार्यकर्ताले विज्ञप्तिमार्फत माग गरेका छन् ।

जेठ १२ गते गठवन्धनका तर्फबाट जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टङ्क थापा, नेकपा एकीकृत समाजवादी पार्टी खोटाङका अध्यक्ष अजमेर राई, नेकपा माओवादी केन्द्रका खोटाङ संयोजक दीपक पाण्डे र नेपाली कांग्रेसका खोटाङ सभापति विष्णुकुमार राईले संयुक्त विज्ञप्ति जारी गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

घटनाका विषयमा टङ्क राईले प्रहरीलाई फोन गरी जानकारी गराएको भएपनि घटनास्थल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पा प्रहरी पुग्दा दुवै पक्षले मादक पदार्थ सेवन गरी झगडा गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शङ्करप्रसाद चौधरीले बताउनु भयो ।

पीडित भनिएका टङ्क राईलाई प्रहरीले जेठ १२ गते प्रहरी कार्यालयमा झिकाएर घटनाका विषयमा जानकारी लिएको इन्स्पेक्टर चौधरीले बताउनु भएको छ ।

घटनाका आरोपितको टाउकोमा चाेट लागेकाे प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेकाे छ ।


तारानाथ फुयल