चुनावको मिति सार्ने सरकारको निर्णयसँगै गाउँ गएका निर्वान अधिकृतहरू अन्यौलमा

  ०७४ जेठ १७ गते

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति तेस्रो पटक सारेपछि गाउँपालिकामा पुगेका निर्वाचन अधिकृतहरू अन्यौलमा परेका छन् । दुर्गम क्षेत्रमा पुगेर जेठ १५ गते कार्यालय उद्घाटन गरेका निर्वाचन अधिकृतहरू चुनावको मिति पर सारिएपछि अन्यौलमा परेका हुन् ।

'समाचारबाट निर्वाचनको मिति फेरिएको खबर थाहा पाएका छौँ ।'-अपि हिमाल गाउँपालिकाका सहायक निर्वाचन अधिकृत कृष्णसिंह बोहराले भने-'आधिकारीक जानकारी भने पाएका छैनौँ ।' खलङ्गाबाट दुई दिनमा पुगिने अपि हिमाल गाउँपालिका पुगेका बोहराले भने-'मुख्य निर्वाचन अधिकृत कार्यालयलबाट आउने आदेशको पर्खाइमा छौँ । के काम गर्ने ? के नगर्ने ? अन्यौलताको अवस्था सिर्जना भएको छ ।'

पहिलो पटक वैशाख ३१ गतेलाई घोषणा भएको निर्वाचन मिति सरकारले नै पटकपटक सार्दै गएको छ । पछिल्लो समय जेठ ३१ गते, असार ९ गते हुँदै असार १४ गतेलाई मिति सार्ने सरकारले निर्णय गरेको छ । निर्वाचन आयोगले समेत अहिलेसम्म कुनै नयाँ कार्यतालिका नपठाउँदा जिल्ला निर्वाचन कार्यालयलाई समेत काम गर्न अन्यौल भएको जिल्ला निर्वाचन अधिकृत तुलसीराम पाण्डेले बताए ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार जेठ १९ गते मनोनयनको समय हो । तर, अहिलेसम्म कुनै कार्यतालिका आयोगबाट प्राप्त भएको छैन । अहिले निर्वाचन कार्यालयले मतदान केन्द्रमा जाने सामग्रीहरू प्याकिङ गर्ने काम गरिरहेको पाण्डेको भनाइ छ । झण्डै ५०/६० प्रकारका निर्वाचन सामग्री पठाउनुपर्ने भएको कारण अहिले देखिनै मिलाउने काम भइरहेको उनको भनाइ छ ।

दार्चुलाका नौ ओटा स्थानीय तहका १ सय २८ ओटै मतदान केन्द्रका लागि सामग्रीहरू प्याकिङ गर्ने काम भइरहेको छ । जेठ १५ गतेबाट निर्वाचन अधिकृतको कार्यालय खुलेर काम सुरू भएको छ । तर, निर्वाचनको मिति पर धकेलिएसँगै निर्वाचन अधिकृत पनि के गरौँ ? के नगरौँको अवस्थामा रहेको पाण्डेले बताए ।

दोस्रो चरणको निर्वाचन कार्यक्रम सार्वजनिक

सरकारले दोस्रो चरणको निर्वाचनको नयाँ मिति घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले असार २ गतेदेखि असार १४ गतेसम्मका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार असार २ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, सोही दिन मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम छ ।

असार ३ गते नै मनोनयनपत्र जाँच गर्ने, ४ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, सोही दिन उम्मेदवारले नाम फिर्ता लिने, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । कार्यक्रम अनुसार असार १४ गते मतदान हुनेछ । जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन यसअघि असार ९ गतेका लागि सारिएको थियो । असार ९ मा मुस्लिम धर्मालम्बीको रमजान रहेकाले १४ गतेका लागि सारिएको सरकारले जनाएको छ ।


नरेन्द्रसिह कार्की