चिस्यान केन्द्र नहुँदा कुहिने डरले आलु सस्ताेमा बिक्री गर्न कृषकहरु बाध्य
तनहुँमा चिस्यान केन्द्र (कोल्ड स्टोर) नहुँदा कृषकहरु समस्यामा पर्दै आएका छन् । अहिले आलु खन्ने सिजन भएको हुँदा कोल्ड स्टोरको अभावमा कृषकहरु खेतबारीबाट नै सस्तो मुल्यमा आलु बिक्री गर्न बाध्य भएका छन् । कोल्ड स्टोरमा राख्न पाएको भए आलुले उचित मुल्य पाउने र कुहिने समस्या नहुने कृषकहरुले बताएका छन् ।
व्यास नगरपालिका– ९ स्थित सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु अधिकारीले कोल्ड स्टोर नहुँदा आलु खेतबारीबाट नै बिक्री गर्न बाध्य भएको बताउनु भयो । उहाँले कोल्ड स्टोर भएको भए ढुक्कसँग बिक्री गर्न पाइने र उचित मुल्य पनि पाइने बताउनु भयो ।
५० केजी सम्म खरिद गर्नेलाई प्रति केजि ३० रुपियाँ र त्यसभन्दा माथि खरिद गर्दा प्रतिकेजी २६ रुपियाँमा आलु बिक्री गरिएको अधिकारीले बताउनु भयो । जिल्लामा कोल्ड स्टोर नहुँदा केही कृषकहरुले आफ्नो पायक अनु्सार पोखरा, चितवनको नारायणगढ र पाल्पाको रामपुरमा लगेर कृषि उपज राख्ने गरेका छन् ।
तनहुँमा कुनै पनि स्थानीय तहमा कोल्ड स्टोर सञ्चालन नभएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल लामिछानेले बताउनु भयो । ‘केही पालिकामा कोल्ड स्टोर निर्माणाधिन छ, केहीमा बन्ने सुर छैन’ लामिछानेले भन्नुभयो ‘कोल्ड स्टोर नहुँदा तनहुँका कृषकहरु मारमा परेका छन् ।’ जिल्लामा कोल्ड स्टोर नहुँदा बाहिरी जिल्लामा लगेर राख्नु पर्दा कृषकहरुलाई ढुवानी खर्च र स्टोर भाडा बढि लाग्ने लामिछानेले बताउनु भयो । जिल्ला बाहिरको कोल्ड स्टोरमा कृषि उपज राख्दा कृषि निर्देशनालय गण्डकी प्रदेशले प्रति केजी ५० पैसा छुट अनुदान दिने गरेको लामिछानेले बताउनु भयो ।
तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र घिरिङ गाउँपालिकामा कृषि ज्ञान केन्द्र मार्फत ५० हेक्टर जग्गामा प्रशोधनयोग्य आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । पाँच कृषि सहकारी र सात कृषक समूह गरि १२ ओटा समूहमा उक्त कार्यक्रम सञ्चालन भएको लामिछानेले जानकारी दिनुभयो । उक्त कार्यक्रम अन्तर्गत यस वर्ष करिब ७ सय मेट्रिक टन आलु उत्पादन भएको छ । त्यस बाहेक पनि कृषक, कृषक समूह र सहकारीहरु मार्फत सयौं मेट्रिक टन आलु उत्पादन हुने लामिछानेले बताउनु भयो ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले संघीय सरकारको सहयोगमा म्याग्दे गाउँपालिकाको वडा नम्बर ३ मा कोल्ड स्टोर निर्माणाधिन अवस्थामा रहेको भन्दै आगामी आर्थिक वर्ष बाट कोल्ड स्टोर सञ्चालन गर्न सकिने बताउनु भयो । अहिले कृषकहरुले आफ्ना उत्पादन पोखरामा लगेर राख्नु पर्ने बाध्यता रहेको बताउनु भयो । पोखरामा लैजाँदा लाग्ने सवारी ढुवानी भाडा भने गाउँपालिकाले नै ब्यहोर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
तनहुँमा आलु बाहेक सुन्तला र अदुवा पनि उल्लेख्य मात्रामा उत्पादन हुन्छ । तर कोल्ड स्टोरको अभावमा कृषकहरुले सस्तो मुल्यमा ति उत्पादनहरु बिक्री गर्न बाध्य हुँदै आएका छन् ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…
एम्बुलेन्स चालकमाथि कुटपिट
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि कुटपिट गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते कुटपिट गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी गाउँपालिका-६ का…