चिसङ्खुगढी गाउँपालिकाद्वारा शिक्षा ऐन जारी

चिसङ्खुगढी गाउँपालिकाले वैशाख २६ गते शिक्षा ऐन जारी गरेको छ । गाउँसभाले चिसङ्खुगढी शिक्षा ऐन-२०७५ पारित गरेपछि ऐन कार्यन्वयनमा आएको हो ।

ओखलढुङ्गामा शिक्षा ऐन जारी गर्ने आठ स्थानीय तहमध्ये चिसङ्खुगढी पहिलो स्थानीय तह हो । अन्य गाउँपालिका तथा नगरपालिकाले ऐन जारी गरेका छैनन् । संविधानको मर्म प्रतिकुल नहुने गरि ऐन जारी गरिएको गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले जानकारी दिए ।

ऐनले आधारभूत तहसम्म अङ्ग्रेजी माध्यम अनिवार्य गरेको छ । ऐनमा शिक्षकहरूको आन्तरिक पदस्थापन, दरबन्दी मिलानलगायतका विषयलाई प्रथामिकतामा राखेको गाउँपालिकाका कार्यकारी अधिकृत सुवास पौडेलले बताए । उनका अनुसार नियमावली विधायन समितिमा छलफल चलिरहेको छ । शुल्कसम्बन्धी व्यवस्था नियमावलीमा व्यवस्थित गरिने भएको छ ।

चालु शैक्षिक सत्रमा कक्षा १ सम्म अङ्ग्रेजी माध्यममा सञ्चालन गर्ने विषयमा समिति बनाएर अध्ययन भइरहेको गाउँपालिकाले जनाएको छ । यो गाउँपालिकामा हाल कक्षा ३ सम्म सञ्चालन भएका समेत गरी ४६ वटा सामुदायिक विद्यालय रहेका छन् ।

यसैबीच जारी गरेको ऐन प्रभावकारी कार्यन्वयन र शैक्षिक सुधारका काम गर्न शिक्षा शाखामा कर्मचारी नै छैनन् । कर्मचारी नभएपछि रचनात्मक शैक्षिक सुधारका काम गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष शर्माले बताए ।

जिल्लास्थित कर्मचारी समायोजन समितिले व्यवस्थापन गर्न नसक्दा गाउँपालिकामा शिक्षा शाखामा कर्मचारी नै नभएका हुन् । सरोकारवाला पक्षले यसबारे ध्यान नदिएर समस्या आएको शर्माको भनाई छ । कर्मचारी अभावमा विद्यालयको अनुगमन र पठनपाठनमा सुधार ल्याउने काम हुन सकेका छैन ।

शिक्षा शाखामा शाखा प्रमुख र अन्य कुनै कर्मचारी नभएपछि अहिले शिक्षकलाई तलब खुवाउनेबाहेक अन्य प्रशासनिक काम भने भएका छैनन् । कर्मचारी व्यवस्थापन गर्न गाउँपालिकाले समायोजन समितिलाई माग गरेको छ ।


शिवप्रसाद ढुङ्गाना