चिट चोर्न नपाएको झोकममा प्रहरी माथि आक्रमण

  ०७४ चैत १३ गते

एसर्इई परीक्षामा चिट चोर्न नपाएको झोकमा परीक्षामा सामेल विद्यार्थी र स्थानिय अभिभावकले चैत १२ गते परीक्षाको सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गरेका छन् ।

चैत १२ गते सञ्चालन गरिएको एसर्इई परीक्षाको गणित विषयमा प्रहरीले चिट चोर्न नदिएको झोकमा प्रभात मावि रोवा केन्द्रको सुरक्षामा खटिएका प्रहरीमाथि राति ८ बजे सुतिरहेको बेला परीक्षामा सामेल विद्यार्थी र स्थानियबासीले आक्रमण गरेका हुन् ।

परीक्षा समयभर शान्तिपुर्ण तरिकाले सञ्चालन भएको भएपनि प्रहरीले चिट चोर्न नदिएको भन्दै परीक्षा केन्द्रको हाता भित्र उत्तरपुस्तिका र प्रश्नपत्र सुरक्षाका लागि राखिएको प्रहरी पोष्टमाथि ढुङ्गामुढा गरेका थिए ।

प्रहरीमाथि प्रहार गरेको ढुङ्गाले प्रहरी हवल्दार अर्जुनकुमार डाँगीको टाउकोमा चोट लागेको छ । घाइते भएका डाँगीको जिल्ला अस्पतालमा उपचार गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । अन्य तीन जना प्रहरी जवानसमेत सामन्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमकिरण बोगटीले बताए ।

बोगटीका अनुसार बिहान सञ्चालन भएको गणित विषयमा चिट चोर्न नदिएकै झोकमा सुतिरहेका प्रहरीमाथि स्थानिय व्यक्ति र विद्यार्थीले ढुङ्गामुढा गरी आक्रमण गर्दा सो नियन्त्रणका लागि एक राउण्ड अश्रुग्यास र पाँच राउण्ड हवाइफाएर समेत गरिएको थियो ।

छायाँनाथ रारा नपा-११ मा रहेको प्रभात मावि रोवामा परीक्षा केन्द्रमा बुद्ध मावि माङ्ग्री र प्रभात मावि रोवाका २ सय ४३ जना विद्यार्थी सामेल रहेका छन् ।

परीक्षा केन्द्र सुरक्षाको लागि असईको कमाण्डमा ११ जना प्रहरी पठाएको थियो । चैत १२ गते प्रहरीमाथि स्थानीय व्यक्ति र विद्यार्थीहरूले ढुङ्गामुढा गरेपछि परीक्षा शान्तिपुर्ण तरिकाले सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालयले इन्स्पेक्टर राजेन्द्र चन्दको कमाण्डमा थप १३ जना प्रहरी पठाएको छ ।

अँध्यारोमा आक्रमण गरेकाले आरोपितहरूको पहिचान नभएपनि अनुसन्धान गरी संलग्न व्यक्तिमाथि कारवाही गरिन प्रहरीले जनाएको छ ।


जीवन सेजुवाल