चिकित्सक सहित घरमै पुगेर अपाङ्गता परिचय पत्र प्रदान

जलजला गाउँपालिका–५ का ५४ वर्षीय शारिरिक अपाङ्गता भएका मनबहादुर पुर्जा पुनलाई जनप्रतिनिधिहरुले चिकित्सकलाई साथमा लिएर उहाँको घरमै पुगेर परिचयपत्र उपलब्ध गराएका छन् ।

अपाङ्गताको अवस्था पुष्टि गर्न साउन ७ गते मनबहादुर पुर्जा पुनको घरमा उपाध्यक्ष दिपक आचार्य सहितको टोली पुगेको हो । अपाङ्गताको वर्ग छुट्टाउन पर्वत अस्पतालमा कार्यरत चिकित्सक डाक्टर दिपक रेग्मीले मनबहादुर पुर्जा पुनको स्वास्थ्य परीक्षण गरेर सिफारिस गर्नुभएको थियो ।

पुनलाई (क) वर्गको परिचयपत्र उपलब्ध गराउन सिफारिस गरिएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । उपाध्यक्ष आचार्यको नेतृत्वमा वडा अध्यक्ष तिलक जिसी, चिकित्सक दिपक रेग्मी र वडा सदस्य टकबहादुर पुन मनबहादुरको घरमै पुग्नुभएको थियो ।

हिडडुल गर्न नसक्ने पुनले शारिरिक अशक्तताका कारण गाउँपालिकासम्म पुग्न नसक्दा परिचयपत्र पाउन सक्नुभएको थिएन । परिचयपत्र नहुँदा पुनले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता र अन्य सेवा सुविधाबाट वञ्चित हुनुभएको थियो ।

IMG-20230724-WA0002IMG-20230724-WA0000


सन्तोष थापा