चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार

  ०८० असोज १५ गते

मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा  प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका पोखरा न्यूरोडबाट गिरफ्तार गरेको भएपनि १४ गते मात्र सार्वजनिक गरेको थियो ।

गिरफ्तार पर्नेमा पोखरा महानगरपालिका– ५ पस्र्याङ गोचौतारमा बस्ने ३४ वर्षीय निवय गुरुङ, सोही ठाउँका ३५ वर्षीय अभिनास गुरुङ र ३६ वर्षीय अरुण गुरुङ, पोखरा– ४ गैह्रपाटनका ३५ वर्षीय अभिनास गुरुङ, पोखरा– ९ नयाँबजार बस्ने २७ वर्षीय नितेश गुरुङ, नयाँबजारकै २९ वर्षीय विवेक गुरुङ, पोखरा– २० भलामका २२ वर्षीय मनिष थापा र पोखरा– ११ फुलबारीका ३१ वर्षीय प्रदीप गुरुङलाई प्रहरीले गिरफ्तार गरेर अनुसन्धान गरिरहेको डिएसपी श्रवणकुमार विकले बताउनुभयो ।

गिरफ्तार भएका आरोपितहरु माथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरेको डिएसपी विकले बताउनुभयो । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको उहाँले बताउनुभयो ।

५७ वर्षीया सुकमाया दुरालाई सामान्य ज्वरो आएपछि उपचारका लागि  असोज ७ गते मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा उपचारको क्रममा असोज ८ गते निधन भएपछि उहाँका आफन्त उपचारमा लापरवाही भएको भन्दै विरोधमा उत्रिएर विवाद भएपछि डाक्टरमाथि कुटपिट र तोडफोड भएको थियो ।


इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा