चिकित्सक कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७८ साउन ४ गते

मेची अस्पताल भद्रपुरमा कार्यरत भद्रपुर नगरपालिका–४ का २६ वर्षीय चिकित्सक केवल कपुरीलाई सेवाग्राहीले साउन ३ गते कुटपिट गरेको आरोपमा पीडितले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिनु भएको छ ।

हल्दीबारी गाउँपालिका–३ का ४५ वर्षीय पुष्पराज निरौलाले साउन ३ गते आफूलाई कुटपिट गरेको आरोपमा पीडितले साउन ४ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

२५ वर्षीया पत्नीको उपचारका लागि साउन ३ गते अस्पताल पुगेका आरोपितले बिरामीको जाँच पड्ताल ढिलो गरी भएको भन्दै कुटपिट गरेको चिकित्सक कपुरीको भनाइ छ ।

आरोपित पुष्पराजले पत्नी बिरामी भएको र चिकित्सक ढिलो गरी बिरामीको परीक्षणका लागि आएपछि समयको पालना गर्नु पर्‍यो भन्दा कपुरीले अपशब्द बोलेपछि कुटपिट गरेको आरोपितको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर टङ्क बाराकोटीले पीडितले सेवाग्राहीसँग बोलेको विषयमा अनुसन्धान गर्ने बताउनु भयो ।

उहाँले अस्पतालभित्र डाक्टरमाथि कुटपिट कुनै पनि हालतमा स्वीकार नहुने भएका दोषीलाई  तत्काल कारबाही गर्न माग गर्नु भएको छ ।

आरोपित निरौलाले अस्पतालभित्र डाक्टरमाथि हात हाल्नु आफ्नो गल्ती भएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चिकित्सक कुटपिटको विरोधमा साउन ४ गते मेची अस्पतालमा कार्यरत चिकित्सकहरूले केही समय सेवा अवरूद्ध गरेपनि साँझ देखि सेवा सुचारू भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर टङ्क बाराकोटीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।


नरेश खाती