चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार

उर्लाबारी नगरपालिका-३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई जेठ १० गते गिरफ्तार गरेको छ ।

आपसी विवादका क्रममा अस्पतालमा कार्यरत मेडिकल अधिकृत, पथरी शनिश्चरे नगरपालिका-१ का २५ वर्षीय डाक्टर ब्रोमिस बुढाथोकीलाई ०८१ जेठ ३ गते र आकस्मिक विभागमा कार्यरत डाक्टर अनिल यादवलाई जेठ ७ गते कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेकाे हो ।

गिरफ्तारीमा पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति ३६ वर्षीय सुमन श्रेष्ठ र मंगलबारे युवा क्लबका अध्यक्ष ४६ वर्षीय पिपलराज गिरी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनु भयो ।

आरोपित दुवै जनालाई अनुसन्धानका लागि झापाको भद्रपुर नगरपालिका-४ बाट जेठ १० गते गिरफ्तार गरेको डिएसपी बस्नेतले बताउनु भयो । आरोपितविरुद्ध प्रहरीले जेठ ११ गते जिल्ला अदालतबाट अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाहीको तयारी गरेको छ ।

चिकित्सकलाई कुटपिट गरेको र शान्ति सुरक्षा नभएको भन्दै अस्पतालमा कार्यरत १ सय ३० जना चिकित्सकले जेठ ९ गते ओपीडी सेवा बन्द गरेका थिए ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणपत्र सन् १९९८ ले चिकित्सकलाई मानव अधिकार रक्षकका रुपमा परिभाषित गरेको छ ।


विनोद सुवेदी