चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०८० असोज १४ गते

सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई प्रहरीले ०८० असोज १४ गते गिरफ्तार गरेको छ ।

डायलाइसिस गर्न बिरामी आफन्त लिएर आएका गौतमद्वयलाई डा. खड्काले ओपिडीमा जम्मा भएर हल्लाखल्ला नगर्न र बाहिर लाइनमा बस्न भनेपछि बिरामीलाई समयमा जाँच नगरेको भन्दै उनीहरूले डा. खड्कालाई गाली गर्दै कुटपिट गरेका थिए ।

सहकर्मी कुटपिट भएपछि अस्पतालतमा कार्यरत चिकित्सक र कर्मचारीले अस्पताल अगाडिको बाटोमा जम्मा भएर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलले चिकित्सक कुटपिटमा गिरफ्तारीमा परेकाहरूलाई पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त, गौशालामा राखेर अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।


विमल पौडेल