चार वर्षको अवधिमा यौन हिंसाबाट ५ सय ८५ जना पीडित

  ०८० साउन २४ गते

१४ वर्षीया बालिकालाई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ बस्ने २३ वर्षीय बिनोद वलीलाई साउन ११ गते गिरफ्तार गर्यो ।

बालिकालाई आरोपितले साउन ९ गते मकै बारीमा लगेर बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थाल्यो ।

बलात्कार र यौन हिंसाको यो प्रतिनिधि मुलक घटना हो । सरकारी र गैर सरकारी निकायले महिला र बालिका माथि हुने यौन हिंसाका घटनामा सचेतीकरण र न्यूनिकरणका विषयमा विभिन्न अभियानहरू सञ्चालन गरेका भए पनि  जिल्लामा हुने यौन हिंसाका घटनाहरू न्यूनिकरण भएको पाइदैन ।

दाङ जिल्लामा चार वर्षको अवधिमा  यौन हिंसाबाट ५ सय ८५ जना महिला तथा बालिका पीडित भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चार वर्षको अवधिमा यौन हिंसाबाट  ५ सय ८५ जना महिला तथा बालिका पीडित भएका हुन् ।

तथ्याङ्क अनुसार बिगत चार आर्थिक वर्षमा १८ वर्ष भन्दा मुनिका १ सय ८५ बालिका पीडित भएका छन् भने १९ वर्षदेखि ३० वर्षसम्मका ६१ महिला, ३१ देखि ५० वर्षसम्मका ४४ महिला र ५१ वर्षमाथिका २ सय ९५ महिला पीडित भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

गौतमका अनुसार आर्थिक वर्ष २०७६ /७७ मा यौन हिंसाका ४४ मुद्दा दर्ता भएकोमा १८ वर्षमुनिका  २८ जना रहेका छन् । त्यस्तै १९ देखि ३० वर्षसम्मका नौ जना, ३१ देखि ५० सम्मका ६ जना र  ५१ देखि ७० सम्मका एकजना पीडित रहेको देखिएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, आर्थिक वर्ष २०७७ /७८ मा ८१ मुद्दा दर्ता भएका छन् । जसमा ५५ जना १८ वर्षमुनिका पीडित रहेका छन् । त्यस्तै १९ वर्षदेखि ३० वर्षसम्मका पीडितको संख्या २१ रहेको छ । ३१ देखि ५० वर्षसम्मका आठ जना पीडित भएका छन् भने ५१ देखि ७० वर्षसम्मका एक जना पीडित भएका छन् ।

आ व २०७८ /७९ मा  ८३ मुद्दा दर्ता भएकोमा  १८ वर्ष मुनिका ५० जना रहेको तथ्याङ्कले देखाएको छ । त्यस्तै १९ वर्षदेखि ३० वर्षसम्मका पीडितको संख्या १२ रहेको छ । ३१ देखि ५० वर्षसम्मका १९ जना पीडित भएका छन् भने ५१ देखि ७० वर्षसम्मका तीन जना पीडित भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यसैगरी, ०७९ /८० मा ५२ मुद्दा दर्ता भएकोमा  १८ वर्ष मुनिका ५२ जना,  १९ वर्षदेखि ३० वर्षसम्मका ५२ जना र ३१ देखि ५० वर्षसम्मका १९ जना पीडित भएक छन् ।

उक्त अवधिमा भएका घटनामा सङ्लग्न २ सय ३२ जना आरोपित गिरफ्तार भएका छन् । जसमा  १८ वर्षसम्मका ५१ जना, १९ देखि ३० वर्षसम्मका १ सय ७० जना , ३१ देखि ५० वर्षसम्मका ८७  जना र ५१ देखि ५० वर्षसम्मका २७ जना रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।


शालिकराम डाँगी