चार महिनादेखि स्वाथ्यचौकीमा स्वास्थ्यकर्मी नभएपछि उपचारका लागि हेलिकप्टरद्वारा काठमाडौँ

नाम्खा गाउँपालिका–३ मुचु स्वास्थ्यचौकीमा चार महिनादेखि स्वास्थ्यकर्मी नभएपछि बिरामीलाई हेलिकप्टरद्वारा उद्दार गरिएको छ ।

हेलिकप्टरद्वारा उद्दार गरिनेमा नाम्खा गाउँपालिका–३ मुचु गाउँकै ४९ वर्षीया छैटोल लामा रहेकी छन् । बिरामी लामालाई एक महिनादेखि पेट र पाठेघरसम्बन्धी रोग लागेको भए पनि मुचु स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नै नभएपछि घरमै रोग पालेर थला परेकी थिइन् ।

पत्नीको उपचार गर्नका लागि हेलिकप्टर चार्टर गरी उपचारका लागि काठमाडौँ लगिएको लामाक्याप लामाले गुनासो गरे ।

लामाका अनुसार सो स्वाथ्यचौकीमा स्वास्थ्यकर्मी नै नभएपछि आपूmले ८ लाख रुपियाँ तिरेर काठमाडौँबाट समिट एयरको फिस्टेल हेलिकप्टर झिकाई फागुन २० गते काठमाडौँमा लगेको बताए ।

उनले भने–‘दुर्गममा हुनुको पीडा त छँदैछ । त्यसमाथि हिमपातले गर्दा सिमकोट आउजाउ गर्न तीनदेखि चार दिन लाग्ने भएको कारण ऋण नै गरेर भए पनि हेलिकोप्टर रिजर्भ गरेर उपचारका लागि काठमाडौँ लगियो ।’

दुई जना अनमी, दुई जना अहेब र एक जना एचए गरी जम्मा पाँच जनाको दरबन्दी रहेको सो स्वास्थ्यचौकीमा चार महिनादेखि कुनै पनि कर्मचारी नभएको बिरामीका आफन्त छेपाक लामाले बताए ।

नाम्खा गाउँपालिका स्वास्थ्य संयोजक दानबहादुर बोहोराले सो स्वास्थ्यचौकीमा एउटा पनि स्वास्थ्यकर्मी नभएको सही हो भनेर स्वीकार गरेका छन् ।

संयोजक बोहोराका अनुसार तीन जना तालिममा गएको र दुई जना चिसो मौसम र हिमपातको समस्याका कारण जान नसकेका हुन् ।

सिमकोट विमानस्थलमै हेकिप्टर टेकअप गरेकोबेला जिल्ला असपताल हुम्लाका डाक्टरहरूले चेक गर्दा ‘यो रोग जटिल छ । हुम्लामा हुन सक्दैन भने ।’–स्वास्थ्य संयोजक बोहोराले भने । बिरामी लामाको फागुन २० गते काठमडौँको केएमसी अस्पतालमा उपचार भइरहेको पति लामाक्यापले बताए ।


नन्द सिंह