चार महिनादेखि विद्यालयमा खानेपानीको अभाव

  ०८० जेठ ११ गते

खार्पुनाथ गाउँपालिका–५ स्थित बागेश्वरी आधारभूत विद्यालयमा चार महिनादेखि खानेपानीको अभाव भएको छ । गत फागुन पहिलो सातादेखि खानेपानीको अभाव भएपछि विद्यार्थी शुद्ध खानेपानीबाट बञ्चित भएका छन् ।

विद्यालयमा खानेपानीको अभाव भएपछि सोही विद्यालयका विद्यार्थी आफैले पानीको नहरमा केही समस्या भएको होकी भन्दै नहर खनेर मर्मत गरे पनि पानी धारामा नआएको छात्रा अस्मिता सुनारले गुनासो गर्नु भएको छ । पानी नआएको चार महिना भइसक्यो तर त्यस तर्फ कसैको ध्यान नगएको छात्रा सुनार बताउनु भएको हो ।

विद्यालय समयमा खानेपानीका लागि जेठ ९ र १० गते विद्यार्थीहरूले नै नहर मर्मतको काम गरे पनि धारामा पानी आएन अर्का छात्र शुरेस बुमीले गुनासो गर्नु भयो ।

विद्यालयको धारामा पानी आउन छोडेपछि विद्यालयमा पढ्न छोडेर आधा घण्टा समय लगाएर खोलाको धमिलो पानी ल्याउन जानुपर्ने बाध्यता छ । त्यस बेलासम्म पढाइ समेत छुट्ने गरेको विद्यार्थीहरूले गुनासो गरेका छन् । उक्त खोलाको धमिलो पानीले स्वास्थ्यमा समेत समस्या हुने गरेको छात्र हिक्मत सार्कीले बताउनु भएको छ ।

गाउँ र विद्यालयको एउटै खानेपानी लाइन भएकोले गाउँका स्थानीयले पटक पटक पाइपलाइन काट्ने गरेपछि विद्यार्थीहरुलाई पानीको समस्या भएको हो । पानी अभावमा विद्यालयका विद्यार्थी र शिक्षकलाई शौचालयको लागि समेत समस्या हुने गरेको सोही विद्यालयका प्रधानाध्यापक गणेश शाहीले बताउनु भएको छ ।

विद्यार्थीहरूले नहर खनेर प्रयास गरे पनि पानी नआएपछि आफूले जलस्रोत नामक संस्थालाई खानेपानीको व्यवस्थापनका लागि पहल गरेको शाहीले बताउनु भएको छ ।

हाल सोही विद्यालयमा १ सय ६ जना विद्यार्थी अध्ययनरत छन् ।

Photo20230525Humla (5) Photo20230525Humla (1) Photo20230525Humla (2)


नन्द सिंह