चार महिनादेखि बाढी पीडितले राहत नपाएको गुनासो

  ०८१ असोज १३ गते

ताँजाकोट गाउँपालिकाका ११ ओटा बस्तीका स्थानीयले राहत नपाएको गुनासो गरेका छन् । गत असार पहिलो सातदेखि परेको अविरल वर्षासँगै माथिबाट आएको बाढी पहिरोले क्षेतविक्षत बनाएपछि ताँजाकोट गाउँपालिकाका–१ देखि ५ नम्वर वडाका ११ बस्ती उच्च जोखिममा पर्नुका साथै हालसम्म स्थानीयले राहत नपाएको गुनासो गरेका हुन् ।

अविरल वर्षाका कारण बाढी पहिरोले ११ ओटा बस्तीमा ठूलो भौतिक क्षेति बनाएको र हालसम्म स्थानीय तह लगायत जिल्ला विपद् व्यवस्थापन समितिले कुनै राहतको व्यवस्था नगरेको स्थानीय मदन परियारले गुनासो गर्नुभयो । स्थानीयले राहत पनि नपाएको र बस्ती पनि उच्च जोखिम रहेकोले बस्ती स्थान्त्ररणका लागि गाउँपालिका कार्यालयले भदौ २६ गते जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनु भयो ।

ताँजाकोट गाउँपालिकामा अविरल वर्षाले जोखिम पारेका बस्तीहरूको बस्ती स्थान्त्ररणका लागि असोज १२ गते जिल्ला विपद् व्यवस्थापन समितिको बसेको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालय, सुर्खेतलाई सिफारिस गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले बताउनु भयो ।

उहाँका अनुसार ताँजाकोट गाउँपालिका–१ को भैसामाझ, गैरा जिमाना बस्ती, काडागाउँ, ताँजाकोट गाउँपालिका–२ को दलित बस्ती, ताँजाकोट गाउँपालिका–३ को रोकाया वाडा, मेलपानी बस्ती, नैकला वस्ती, बुढातौँजा बस्ती, ताँजाकोट गाउँपालिका–४ को ओखडेना बस्ती र ताँजाकोट गाउँपालिका–५ को शात्ति गाउँ र चिहिगाउँ लगायतका ११ ओटा बस्ती उच्च जोखिममा रहेका छन् । यस वर्षको मनसुन अवधिमा बाढी पहिरो, बर्षात तथा रोगकिराले क्षति भएको बालीनालीको राहत रकम विगतका वर्ष झै उपलब्ध गराउन कृषि विकास कार्यालय हुम्ला मार्फत सम्बन्धित प्रदेश मन्त्रालयमा समेत अनुरोध गरिएको सुवेदीको भनाइ छ ।


नन्द सिंह