चार महिनादेखि प्रसुति शल्यक्रिया सेवा अवरुद्ध हुदाँ समस्या

पर्वत अस्पतालमा चैत महिनाको २० गतेदेखि प्रसुति शल्यक्रिया अवरुद्ध हुदाँ सेवाग्राहीलाई समस्या भएको छ । जिल्ला अस्पतालमा दक्ष जनशक्ति नहुँदा सेवा बन्द भएको हो ।

कुश्मा नगरपालिका– ४ कि २८ वर्षीया सुनिता विक सुत्केरी व्यथाले च्यापेपछि अस्पताल गएको तर बच्चा उल्टो भएको जानकारी पाएपछि त्यहाँबाट पोखरा जान बाध्य भएको उहाँका पति आर्यन विकले गुनासो गर्नुभयो । सामान्य खर्चको सोच गरेर घरबाट निस्किएको पोखरा जाँदा खर्च धान्नै मुस्किल भएको उहाँको दुखेसो थियो ।

जिल्ला अस्पतालमा पर्वतको जलजला, फलेवास, कुश्मा र मोदी गाउँपालिका सँगै बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका सेवाग्राहीहरु समेत आउने गर्दछन् । तर चार महिना देखि चिकित्सक नहुँदा जटिल प्रकारका गर्भवती तथा सुत्केरी महिलालाई प्रसुति गराउनका लागि पोखरा बागलुङ लगायतका ठुला अस्पतालमा पुग्नुपर्ने अवस्था रहेको छ ।

जिल्ला अस्पताल पर्वतकी निमित्त मेडिकल सुपरिटेण्डेण्ट रुक्मिणा अधिकारीका अनुसार सेवामा रहेका चिकित्सक एमडिजीपी डाक्टर हेमन्त बरालको सरुवा भएपछि नयाँ चिकित्सक नआउँदा सेवालाई निरन्तरता दिन नसकिएको हो । उहाँले अन्य विकल्पको खोजी गरिएपनि हालसम्म सेवालाई नियमितता दिन नसकिएको बताउनुभयो । तर सामान्य प्रकारका प्रसुति सेवा भने सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।


सन्तोष थापा