चार बुँदे सहमतिपछि १८ औँ दिन अनसन तोडियो
अस्पताल सुधारको माग गर्दै १८ दिनदेखि आमरण अनसनमा बसेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का केन्द्रीय अध्यक्ष विकास तिवारीले मङ्सिर २५ गते अनसन तोडेका छन् ।
स्वास्थ्य मन्त्री गगन थापाको उपस्थितिमा सरकारी पक्ष र अनसनरत तिवारीका प्रतिनिधीबिच चार बुँदे सहमतिपछि तिवारीले कोचाभखारी लोखरमकी १४ महिने कुपोषित बालिका निलमकुमारी मण्डलको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
अस्पताल सुधार तथा आर्थिक अनियमितता छानबिनको माग राख्दै राजविराजस्थित अञ्चल अस्पताल परिसरमा मङ्सिर ८ गतेदेखि तिवारी अनसन बसेका थिए । स्वास्थ्य मन्त्री गगन थापाको उपस्थितिमा भएको सम्झौता पत्रमा सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखाका प्रमुख भोगेन्द्रराज डोटेल तथा तिवारीको पक्षबाट वार्ता टोलीका संयोजक अशोक चौधरी र सदस्यहरू विष्णुकुमार मण्डल, दिपेन्द्र चौधरी, जागेश्वर यादव र कुवेरकुमार यादवले हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा रिक्त रहेको विभिन्न विशेषज्ञ चिकित्सकहरू एक महिना भित्र पूर्ति गर्ने, निर्माणाधिन प्रसुति गृहको निर्माण कार्य अविलम्व पुरा गरी १५ दिन भित्र सेवा सुचारू गराउने तथा अस्पतालका लागि खरिद गर्नुपर्ने डाइलासिस, सर्जरी उपकरण, डिजिटल एक्स-रे, एनालाइजरलगायतका उपकरणहरू खरिद गर्ने कार्यमा मन्त्रालयबाट सहजीकरण गरी अविलम्व सुविधा सम्पन्न बनाउने प्रतिबद्धता उल्लेख छ ।
यस्तै अस्पताललाई विशेष प्याकेजको रूपमा विकास गर्न स्वास्थ्य मन्त्रालय अन्तर्गतका प्रमुख विशेषज्ञको अध्यक्षतामा सात दिनभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने र सो समितिले एक महिनाभित्र जाँचबुझ पूरा गरी दिएको प्रतिवेदनको आधारमा आवश्यक कारबाही र तत्कालै गर्नुपर्ने काम कार्यान्वयन गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौता पत्रमा अस्पतालबाट बिरामीलाई प्रदान गरिने खाना, नास्ता, फलफूल तथा औषधिहरूको विवरण अस्पताल परिसरमा देखिने गरी पाँच ओटा नागरिक वडापत्र राख्नेसमेत उल्लेख छ । यस्तै सम्झौतामा जिल्ला प्रशासन कार्यालयका अधिकृतस्तरको कर्मचारीले सात दिनमा एक पटक सरसफाई, बेड, बिरामीको खाना, नास्ता, फलफूल, औषधि, कर्मचारीको उपस्थितिबारे अनुगमन गरी पठाएको प्रतिवेदनको आधारमा समस्या समाधान गर्न मन्त्रालयले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरिएको छ ।
तिवारीले अनसनबाट केही उपलब्धि प्राप्त भएको र बाँकी प्राप्त हुने क्रममा रहेको भन्दै १८ दिने आन्दोलनमा सहयोगका लागि विद्यार्थी, अधिकारकर्मी, राजनीतिक लेखक, वकिल, सञ्चारकर्मी र सर्वसाधारणलाई धन्यवाद दिए ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुधार गर्नुपर्ने माग गर्दै आमरण अनसनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीको जीवन रक्षा गर्न इन्सेकले प्रेस विज्ञप्ति जारी गर्दै माग गरेको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…