चार ओटा गाउँपालिकामा सञ्चार समस्या

दार्चुलाका चार ओटा स्थानीय तहमा अझै सञ्चार सेवा प्रभावकारी भएको छैन । जिल्लाको अपि हिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र व्यास गाउँपालिकामा टेलिफोनले काम नगर्ने भएकाले निर्वाचनका बेला थप समस्या हुने भएको हो ।

यी क्षेत्रमा मोवाइल टावर स्थापना गरिएको भएपनि घाम नलागेसम्म टावरले काम नगर्ने गरेको स्थानीयले गुनासो गरे ।

नौगाड गाउँपालिका रहेको ठाउँमा घाम लागे पनि फोन नलाग्ने गरेको स्थानीय नरेन्द्रसिंह ठगुन्नाले बताए । भौगोलिक विकटताको कारण पनि गाउँपालिकामा फोन लगाउन समस्या भएको छ । सिप्टीमा रहेको स्काइ र एनसेल टावरले समेत घाम लागे मात्र काम गर्ने गरेको स्थानीयले बताए ।

मार्मा गाउँपालिकामा पनि सिप्टीकै सिडिएमए टावरले काम गर्ने भएकोले घाम नलागेपछि फोन सम्पर्क नहुने स्थानीय शिक्षक विरेन्द्र महराले जानकारी दिए । 'बिहानदेखि घाम नअस्ताएसम्म फोन गर्न मिल्छ ।'-महराले भने-'यस्तो अवस्थामा निर्वाचनको क्रममा सूचना जानकारी अपडेट गर्नसमेत समस्या हुने पक्का छ ।'

व्यास गाउँपालिकाको तिङ्करमा घाम लागेपनि मोवाइल फोनले काम गर्दैन । व्यासको छाङ्गरूमा मोवाइलले काम गरेपनि तिङ्करमा मोवाइलले काम नगर्ने स्थानीय विनोद तिंकरीले बताए । तिंकरमा कहिलेकहीँ मात्र भिसेटले काम गर्छ ।

नेपाल टेलिकम दार्चुलाले भने फोन टावरमा विद्युत क्षमता अभावको कारण घाम लागे मात्र फोन लाग्ने गरेको जनाएको छ । सोलार पर्याप्त नहुँदा फोनले काम नगर्ने गरेको टेलिकमले जनाएको हो ।

'खासगरी निर्वाचनको समयमा ती गाउँपालिकाबाट बिहान बेलुकी अपडेट हुनै समस्या रहेको छ ।'-जिल्ला निर्वाचन अधिकृत तुलसीराम पाण्डेले भने ।

'अहिलेसम्म फोन कम लाग्ने ठाउँमा कसरी सञ्चार प्रभावकारी बनाउने भन्ने बारेमा सोचिएको छैन ।'-उनले भने-'केही गाउँपालिकामा 'डङ्गोल डिभाइस' कम फोन लाग्ने ठाउँमा प्रयोग गरिने इन्टरनेट दिइएको भएपनि प्रभावकारी रूपमा काम गरेको छैन ।'


नरेन्द्रसिह कार्की