चक्रघट्टा गाउँपालिकामा नेकपा र कांग्रेसका कार्यकर्ताबिच झडप, सात जना घाइते

  ०७७ पुस २८ गते

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्डनेपाल समूह) का कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबिच पुस २६ गते झडप हुँदा सात जना घाइते भएका छन् ।

चक्रघट्टा गाउँपालिका अध्यक्ष विक्रम यादव पक्षले चक्रघट्टा गाउँपालिका–६ गोहियाहीका ६१ वर्षीय रामजिनिस साहलाई कुटपिट गरेको विषयमा दुई पक्षबिच झडप भएको हो ।

झडपका क्रममा दुई पक्षबिच ढुङ्गा हानहान भएपछि गाउँपालिका अध्यक्ष यादव पक्षका ६ जना र नेपाली कांग्रेस तर्फका एक जना गरी सात जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा गाउँपालिका अध्यक्ष पक्षका चक्रघटा गाउँपालिका–२ बस्ने ३६ वर्षीय दिनेश राय, ३३ वर्षीय रञ्जित यादव, २८ वर्षीय सन्तोष यादव, चक्रघटा गाउँपालिका–९ घोरिया बस्ने २० वर्षीय धिरेन्द्र यादव, २२ वर्षीय पप्पु यादव र चक्रघटा गाउँपालिका–७ सगरदिना बस्ने ३३ वर्षीय नविन कुमार यादव रहेका छन् । घाइते ६ जनाको जिल्ला अस्पताल मलङ्गवामा उपचार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी नेपाली कांग्रेस पक्षका लेथ मेशीन सञ्चालक चक्रघटा गाउँपालिका–६ गोहियाही बस्ने ६१ वर्षीय रामजिनिस साहलाई कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।

घाइतेको उपचार जिल्ला अस्पताल मलङ्गवामा गरी थप उपचारका लागि बीरगंज रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रामजिनिस साह पक्षबाट करिब ३ सय जना आएर स्थानीयले चक्रघटा गाउँपालिकाको ना १ झ १७०० नाम्बरको स्कर्पियो जीप र कार्यालयमा तोडफोड गरी लाखौँको क्षति पुर्‍याएको चक्रघटा गाउँपालिकाका अध्यक्ष यादवको आरोप छ ।


बुधन साह