घोषणापत्रमा मानव अधिकारप्रतिको प्रतिबद्धता समेट्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्तहरूको सङ्गठन पूर्व आयुक्त समाजले राजनीतिक दलहरूसँग आफ्नो घोषणापत्रमा मानव अधिकारप्रतिको प्रतिबद्धता, त्यसको संरक्षण र संबर्द्धन गर्ने विषयसहितको घोषणापत्र तयार गर्न आग्रह गरेको छ ।

काठमाडौँमा दुई दिन भएको समाजको बैठकपश्चात कात्तिक १४ गते राजनीतिक दलहरूलाई पत्राचार गर्दै समाजले यस्तो आग्रह गरेको हो ।

आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेस सभा निर्वाचनका लागि घोषणापत्र निर्माणको चरणमा रहेका दलहरूलाई पत्र लेख्दै यस्तो आग्रह गरिएको समाजका अध्यक्ष एवम् आयोगका पूर्व प्रमुख आयुक्त केदारनाथ उपाध्यायले जनाएका छन् ।

मानव अधिकारप्रतिको प्रतिबद्धताको उच्च कदर गर्दै आफ्नो घोषणा पत्र एवम् निर्वाचनको सन्दर्भमा गरिने प्रतिबद्धतामा राष्ट्रिय मानव अधिकार आयोगको संयोजनकारी तथा नेतृत्वदायी भूमिकाको लागि कानुनी व्यवस्था गर्ने प्रतिबद्धताले मानव अधिकारको संरक्षण हुने पूर्व आयुक्त समाजले जनाएको छ ।

'मानव अधिकारप्रतिको प्रतिबद्धता र त्यसको संरक्षण र संबर्द्धनका लागि स्थापित राष्ट्रिय संयन्त्रको प्रभावकारिताप्रति यहाँको दलको भूमिका अझ सशक्त हुनेछ भन्ने आशा गर्दै आगामी निर्वाचनमा सफलताको कामना गर्दछौ ।'-दलहरूलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

पूर्व आयुक्त समाजले नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाललगायतका दलहरूलाई पत्र बुझाउँदै यस्तो आग्रह गरेको हो ।

पेरिस सिद्धान्तको आधारमा स्थापित स्वतन्त्र र स्वायत्त राष्ट्रिय मानव अधिकार आयोगलाई मानव अधिकारको संरक्षण र संबर्द्धन गर्ने सम्पूर्ण कार्यको दायित्व तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि मानव अधिकारका विषयमा प्रतिनिधित्व गर्ने जिम्मेवारी प्राप्त रहेको पूर्व आयुक्त समाजले जनाएको छ ।


सुभाष साह