घोराही सिमेन्ट उद्योगमा 'रोजगार पाउने आश थियो तर दम र क्षयरोग दियो'
घोराही उपमहानगरपालिका–१७, ओखराका ६० वर्षीय फणाधर बुढालाई धुम्रपान र मद्यपानको लत छैन । पहिले पनि थिएन, अहिले पनि छैन । तर, तीन सातायता फणाधर क्षयरोगले थलिनुभएको छ । फणाधरमात्रै होइन घोराही सिमेन्ट कारखाना नजिक रहेका लक्ष्मीपुर, गोग्ली, रामपुर, ओखरा, भैसाही, चौघेराजस्ता बस्तीहरूमा क्षयरोग र दमका बिरामी ह्वात्तै बढेका छन् । पछिल्लो पाँच वर्षको स्वास्थ्य संस्थाहरूको तथ्याङ्कले घोराही सिमेन्ट नजिकका बस्तीहरूमा क्षयरोग र दमका बिरामी दोब्बरले वृद्धि भएको पाइएको छ । घोराही उपमहानगरपालिका वडा नं. २, ३, ४ र १७ का नागरिकमा क्षयरोग र दमको सङ्क्रमण ह्वात्तै बढेको हो ।
घोराही सिमेन्ट कारखानाको पाँच सय मिटर पश्चिममा रहेको लक्ष्मीपुर स्वास्थ्य चौकीबाट औषधि सेवन गर्नेहरूको तथ्याङ्क हेर्दा विगत पाँच वर्षमा ६९ जना महिला, ८९ जना पुरुष गरी कुल १ सय ५८ जनामा क्षयरोगको सङ्क्रमण पुष्टि भएको छ । आर्थिक वर्ष ०७६/७७ मा १३ जना महिला र ११ जना पुरुष गरी २४ जनामा क्षयरोग सङ्क्रमण देखिएकोमा आर्थिक वर्ष ०८०/८१ मा दोब्बर बढेर २१ जना महिला र २५ जना पुरुष गरी ४६ जनामा सङ्क्रमण पुष्टि भएको लक्ष्मीपुर स्वास्थ्य चौकीका फोकल पर्सन रमेश बुढाथोकीले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकीका अनुसार आर्थिक वर्ष ०७७/७८ मा २३ जनामा क्षयरोग सङ्क्रमण भयो । जसमा १० जना महिला र १३ जना पुरुष थिए । त्यस्तै आर्थिक वर्ष ०७८/७९ मा बढेर ३४ जना क्षयरोगका बिरामी भेटिए । जसमा १३ जना महिला र २१ जना पुरुष छन् । आर्थिक वर्ष ०७९/८० मा नौ जना महिला र १८ जना पुरुषमा क्षयरोगको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य चौकीका अनुसार झन् पछि क्षयरोगीका बिरामी बढ्दै गएको छ । स्वास्थ्य चौकीले क्षयरोगमात्र नभई स्वासप्रस्वासजन्य समस्या लिएर आउने बिरामी अझ धेरै रहेको जनाएको छ ।
दमका रोगी झन् धेरै
लक्ष्मीपुर स्वास्थ्य चौकीमार्फत औषधि सेवन गर्ने दमका रोगीहरू विगतका चार वर्षमा १ सय ७८ जना छन् । जसमा सबैभन्दा धेरै महिला ९८ जना छन् भने ८० जना पुरुष दमका रोगी छन् । स्वास्थ्य चौकीका अनुसार आर्थिक वर्ष ०८०/८१ मा सबैभन्दा धेरै दमका रोगी भेटिएका छन् । ३६ जना महिला र ३० जना पुरुषमा दम रोग देखिएको छ । जुन आर्थिक वर्ष ०७७/७८ को झण्डै दोब्बर सङ्ख्या हो । आर्थिक वर्ष ०७७/७८ मा १८ जना पुरुष र २३ जना महिला गरी ४१ जनामा दम रोग थियो । यस्तै आर्थिक वर्ष ०७८/७९ मा २६ जना महिला र १५ जना पुरुषमा दम रोग देखियो भने आर्थिक वर्ष ०७९/८० मा १३ जना महिला र १७ जना पुरुष गरी ३० जनामा दम रोग देखिएको स्वास्थ्य चौकीका फोकल पर्सन बुढाथोकीले जानकारी दिनुभयो ।
रामपुरमा पनि बढ्दै रोगी
घोराही सिमेन्ट कारखानाको तीन किलोमिटर पूर्वमा पर्ने घोराही उपमहानगरपालिका–२, रामपुरलगायतका क्षेत्रमा पनि क्षयरोग र दमका रोगी बढ्न थालेको रामपुर स्वास्थ्य चौकीले जनाएको छ । रामपुर स्वास्थ्य चौकीले दिएको जानकारी अनुसार विगतका तीन वर्षमा १ सय ३४ जना दमका बिरामी देखिएका छन् । आर्थिक वर्ष ०८०/८१ मा ५४ जनामा दमको समस्या देखिएको छ भने आर्थिक वर्ष ०७८/७९ मा ४३ जना, आर्थिक वर्ष ०७९/८० मा ३७ जना दमका रोगी भेटिएको स्वास्थ्य चौकी इन्चार्ज भुवनेश्वर रिजालले जानकारी दिनुभयो । रामपुर स्वास्थ्य चौकीमा डट्स विधिबाट क्षयरोगको औषधि सेवन गर्ने बिरामी पनि कम छैनन् । विगतका तीन वर्षमा ३१ जना महिला र ५८ जना पुरुष गरी ८९ जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । आर्थिक वर्ष ०७८/७९ मा १४ जना महिला र २३ जना पुरुष गरी ३७ जना, आर्थिक वर्ष ०७९/८० मा आठ जना महिला र १८ जना पुरुष गरी २६ जना र ०८०/८१ मा नौ जना महिला र १७ जना पुरुष गरी २६ जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको स्वास्थ्य चौकी इन्चार्ज रिजालले जानकारी दिनुभयो ।
छाला र स्वासप्रस्वासका बिरामीको गणना छैन
२०६६ सालमा घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ मा स्थापना गरिएको घोराही सिमेन्ट कारखानाको धुलो धुवाँकै कारण यस क्षेत्रका नागरिकमा छालाजन्य र स्वास्थ्य प्रस्वासजन्य समस्या दिनहुँ बढेको छ । धुलो धुवाँकै कारण दम र क्षयरोग हुनेहरूले स्थानीय अस्पतालबाट औषधि सेवन गरिरहेका छन् भने छालाजन्य र स्वासप्रस्वासजन्य समस्या लिएर अस्पताल आउनेहरूको गणना नै नभएको स्वास्थ्य चौकीले जनाएको छ । छाला चिलाउने, विविरा आउने, घाउ हुने, खोकी लाग्ने, स्याँ स्याँ बढ्ने, प्रसेर बढ्ने जस्ता समस्या स्थानीयमा ह्वात्तै बढेको लक्ष्मीपुर स्वास्थ्य चौकीका फोकल पर्सन रमेश बुढाथोकीले बताउनु भयो । दिनहुँजसो समस्या लिएर आउनेहरू छन् तर आफूहरूले त्यसको गणना नगरेको उहाँले उल्लेख गर्नुभयो । बुढाथोकीले भन्नुभयो, 'सिमेन्ट उद्योग नजिकका क्षेत्रमा दम र क्षयरोगका बिरामी सोँचेभन्दा बढी भेटिन थालेका छन् ।' उहाँले आफै शङ्का लागेर जचाउन आएका सङ्क्रमितहरूको तथ्याङ्क स्वास्थ्य चौकीमा रहेको तर खोज्न जाने हो भने झन् धेरै क्षयरोगी र दमका रोगी भेटिने बताउनु भयो ।
‘गाउँकै बिचमा उद्योग छ, धुलो धुवाँ छरपष्ट छ । यसले क्षयरोग र दम बढ्न थालिसकेको छ । प्रेसरका रोगी पनि बढिरहेका छन् । यही अवस्था रहिरहे आउने पुस्ताले दम, क्षयरोग, छालाको क्यान्सरले सबै मर्ने अवस्था सिर्जना गर्नेछ’, रामपुर स्वास्थ्य चौकीका इन्चार्ज भुवनेश्वर रिजालले भन्नुभयो । स्थानीय समेत रहनु भएका रिजालले उद्योग आउँदा रोजगार पाउने आशा सर्वसाधारणमा थियो तर अहिले रोगी बनाइरहेको भन्दै यसबारे पुनर्विचार गर्नुपर्ने बेला आएको बताउनु भयो ।
जयनारायण पुन
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…