घर निकाला भएकी महिलाको इन्सेकको पहलमा उद्धार

  ०७८ पुस ३ गते

कमलामाई नगरपालिका–७ पानिट्याङ्कीकी ६३ वर्षीया लक्ष्मी गुरुङ्गलाई पुस २ गते इन्सेकको पहलमा उद्धार गरी सेफ हाउसमा राखिएको छ ।

सोही ठाउँका महेश भुषाल, चुडाकुमारी गौतम र धनमाया प्रधानले ब्याजमा दिएको ऋण असुलीका लागि जिल्ला अदालतमा दिएको आदेशमा घर खाली गराउन पुगेको प्रहरीले पुस २ गते घर खालि गरी सरसमामान निकालिदिएपछि उहाँको सडकमा बास भएको थियो ।

२१ धुर जग्गामा घर बनाएर कुखुरा पाल्दै आउनु भएकी लक्ष्मी बजार सामान किन्न गएका बेला प्रहरीले घरको सामान निकाल्न थालेपछि स्थानीयले अवरोध गरे पनि प्रहरीले बल प्रयोग गरेर लक्ष्मीको सामान घरबाट निकालेर घर खालि गरिदिएको थियो ।

प्रहरीले सरसामान निकालिदिएपछि एकल महिला लक्ष्मी वेसहारा भई राती अदालत अगाडिको चौतारामा बास बस्नु भएको थियो ।

सो घटना थाहा पाएपछि इन्सेक प्रतिनिधि नविनबावु अधिकारीको पहलमा पीडितलाई उद्धार गरी राति १० बजे महिला तथा बालबालिका कार्यालयले सञ्चालन गरेको सेफहाउसमा राखिएको हो ।

लक्ष्मीले घर व्यवहार चलाउनका लागि तीन जानासँग १ लाख ५० हजार ऋण लिनु भएको थियो । मिटर ब्याज लगाएर लक्ष्मीसँंग महेश भुषाल, चुडा कुमारी गौतम र धनमाया प्रधानले आफूहरूले लिन बाँकी भन्दै ११ लाख रुपैया दिने गरी कागज गरेको लक्ष्मीले बताउनुभयो ।

ऋण तिर्न नसकेपछि जग्गा विक्री गरेर तिर्ने सहमति भएको र आफूलाई ऋण दिनेहरूले २२ लाख रुपैंया ऋण भनेर पुनः कागज गरेको उहाँले बताउनुभयो ।

उनीहरूले के कागज गरेका छन् मलाई थाहा छैन तर मेरो जेथो ८० लाख मुल्य बराबरको छ तै पनि मलाई घरबाट प्रहरीले निकालिदियो उहाँले भन्नुभयो ।

स्थानीयले मिटर व्याज लगाएर बृद्धालाई अन्याय गरेको भन्दै अदालत नै प्रभावित भएर यो फैसला गरेको स्थानीयले बताउदै आएका छन् ।

जिल्ला अदालतका तहसिलदार डेढकुमार ढकालको नेतृत्वमा गएको प्रहरी टोलीले लक्ष्मीको घर खाली गरेको थियो ।


नविनबावु अधिकारी