घर–घरमै जन्मदर्ता अभियान

मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा ६ ले व्यक्तिको पहिचानको अधिकार विश्वव्यापी अधिकारको रूपमा उल्लेख गरेको छ ।

प्रत्येक व्यक्तिलाई कानुनको अगाडि जुनसुकै ठाउँमा व्यक्तिको रूपमा पहिचानको अधिकार हुन्छ भनेर घोषणापत्रमा उल्लेख गरिएको छ ।

नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धी, १९६६ ले प्रत्येक बालबालिका जन्मने बित्तिकै दर्ता गरिनुपर्ने र उसले नाम प्राप्त गर्नुपर्ने घोषणा गर्नुको साथै प्रत्येक बालबालिकाको राष्ट्रियता प्राप्त गर्ने अधिकार हुने’ उल्लेख गरेको छ ।

सोही बमोजिम सूर्योदय नगरपालिका–५ वडा कार्यालयले ०८० फागुन ३ गतेबाट बच्चाको जन्मदर्ता बनाइदिएर घर–घरमै पुर्‍याउने कार्यको सुरुआत गरेको छ ।

photo 20240215 ilam

चेतना अभावका कारण समयमा बच्चाको जन्म दर्ता नगराएपछि विगत दुई वर्षयता जन्मदर्ता नबनाएका बालबालिका खोजेर जन्म दर्ता बनाइ दिन थालेको वडा कार्यालयले जनाएको छ ।

वडाले यस वर्षबाट जन्मिएको ३५ दिन भित्रमा घरमै जन्मदर्ता पुर्‍याउने दिने अभियान सुरुआत गरेको सूर्योदय नगरपालिका–५ का वडाध्यक्ष उर्गेन वम्जनले बताउनु भयो । ‘नानी जन्मिने बित्तिकै पहिले सुत्केरी भेट्न वडा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरूको टोली जानुहुन्छ ।’ वडाध्यक्ष उर्गेन वम्जनले भन्नुभयो, ‘उहाँहरूले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ को अनुसूची १० बमोजिम सूचना फारम भरेर वडालाई उपलब्ध गराउनुहुन्छ । सुत्केरी भेट्न पुग्नु भएको स्वास्थ्यकर्मीले आमा र बाबुको विवाह दर्ताको फोटो र बच्चाको फोटो खिच्नुहुन्छ ।’ त्यसको आधारमा वडाले जन्मदर्ता तयार गर्छ, वडाध्यक्ष वम्जनले भन्नुभयो ।

जन्मदर्ता जनप्रतिनिधि र कर्मचारीको टोली घरमै पुगेर अभिभावकलाई हस्तान्तरण गर्ने गरिएको वडाध्यक्ष वम्जनको भनाइ छ ।

सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेविका बुढाथोकीलाई छोरी साइफ्रीना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पुर्‍याउने वडाध्यक्षसहितको टोली घरमा पुग्दा अचम्म लाग्यो । ‘छोरीको न्वारन मात्र सकिएको थियो । जन्मदर्ता वडामै बनाएर घरमै पुर्‍याउने आउनु भएछ केशवले भन्नुभयो ।

वडा कार्यालय टाढा छ, पुगेर आउने हैरान नै घट्यो ।’ बेविकाले भन्नुभयो, ‘यहाँ कतिजनालाई त जन्मदर्ता ३५ दिन भित्र बनाइसक्नु पर्छ भन्नेपनि थाहा छैन ।

वडाले कार्यालयले बनाइ दिएर घरमै ल्याइदिन थालेछ खुसी लाग्यो ।’ सोही ठाउँका एल्विन शंखरको जन्मदर्ता जन्मिएको १६ दिनमा फागुन ३ गते वडाले ल्याइदिएको एल्विनकी आमा वर्षाले बताउनु भयो ।

वडामा रहेका सात ओटा सामुदायिक र दुई ओटा संस्थागत विद्यालयमा पुगेर दुई वर्षअघि विद्यार्थीको जन्मदर्ता जाँच गर्दा कतिपयको नभएको पाइएपछि वडाले जन्म दर्तालाई अभियानका रुपमा चलाएको वडाध्यक्ष उर्गेन वम्जनले बताउनु भयो ।

‘हामीले विगत दुई पहिले स्कूल–स्कूल घुमेर जन्मदर्ता नभएका नानीहरु चेक गर्यौँ ।’ उहाँले भन्नुभयो, ‘वडामा सात ओटा सामुदायिक र दुई ओटा संस्थागत गरी नौ ओटा विद्यालय छन् । त्यहाँ बाबु आमालाई सम्पर्क गराएर कानुनी सल्लाह दियौँ । जन्मदर्ता गरायौँ । र पनि समस्या समाधान भएन ।’

शतप्रतिशतको जन्मदर्ता गराउने लक्ष्य लिएको वडाले त्यहाँका तीनवटा खोप केन्द्रमा पनि अनुगमन गरेको थियो । खोपकेन्द्रमा खोप लगाउँदै गरेका नानीहरुको जन्मदर्ता भए–नभएको चेकजाँच गर्दा कतिपयलाई जन्मदर्ता गर्ने समयावधि, कागजी र कानुनी प्रक्रिया नै थाहा नभएको पाइएको वडाध्यक्ष वम्जनले बताउनु भयो । ‘खोप केन्द्रमा पत्ता लागेकाहरुको पनि काम गरियो । त्यो गर्दा पनि समस्या समाधान नभएकाले अब अन्तिम विकल्पका रुपमा यो अभियान सुरु गरेका छौँ ।’ उहाँले भन्नुभयो ।

प्रक्रिया र सूचना थाहा नपाउँदा समस्या हुने गरेको छ भने अर्कातिर आवश्यकता भएपछि मात्र चासो दिने समस्या छ । ‘कसैले बालबालिकालाई स्कुल पुर्‍याउने बेलामा  मात्र थाहा पाएर जन्मदर्ता गर्छन, त कसैले कुनै कामका लागि कागजात चाहिँदा मात्र गर्छन । वडासचिव सञ्जय ढुङ्गेलले भन्नुभयो, ‘विशेषगरी चेतनास्तर नै कम भएर हो, जनप्रतिनिधिहरुको फुर्सद नहुँदा हामी आफैँ गएर दिन्छौँ । तर, राम्रो कामको सुरुआत गरिहालौँ भनेर थालिएको हो ।’

यसअघि जन्मदर्ता गर्न छुटेकाहरु खोज्ने र अब जन्मनेहरुका लागि ३५ दिनभित्रमा घरमै उपलब्ध गराउने गरीको अभियानलाई वडावासीले सहयोग गर्नु भएको छ ।

सूर्योदय नगरपालिका–५ का प्रदीप गिरीले भन्नुभयो, ‘जनताप्रति सचेत र जवाफदेही जनप्रतिनिधि र कर्मचारी पाएका छौँ । जसका कारण समयमा बालबालिकाको जन्म दर्ता हुने भएको छ ।


मनोज अधिकारी