घर गोठसँगै पाठ्यपुस्तक जलेपछि इस्मा गाउँपालिकाका ३१ जना विद्यार्थीको पठनपाठन प्रभावित

  २०८१ वैशाख १३

इस्मा गाउँपालिकाका अधिकांश घर गोठसँगै पाठ्यपुस्तक जलेपछि ३१ जना विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ ।

इस्मा गाउँपालिका-२ का इन्द्र बहादुर थापाका तीन जना छोराछोरी विद्यालय उमेरका छन् । छोरा किरण, कृष्ण र कृष्टी थापा देविस्थान माविमा पढ्छन् । आगोले किताब, कापी र पोशाक सबै जल्यो । सबै सम्पत्ति जलेपछि थापासँगै कुनै चित्त बुझाउने उपाय छैन् । पसलसहितको गोठ जल्यो । घाइते भए पनि दुई गोरु र एउटा भैँसी बँचे । शरीरका कपडा जोगिए । विद्यालय जाने बेलामा छोराछोरीहरू निन्याउरा छन् । छोराछोरी देख्दा थापाको मन भक्कानिन्छ । ‘सबैले पाल पाए मलाई त गोठ भनेर त्यही पनि दिएनन् । बाँचेका पशुको भोक र छोराछोरीको शोकले म आफै थला पर्न थालेँ । किताब, कापी, पोशाक र झोला किन्ने पैसा छैन । खै कसरी छोराछोरी स्कुल पठाउने हो’, थापाले भन्नुभयो ।

इस्मा गाउँपालिका–४ की करिना विक अहिले कक्षा ८ मा पढ्नुहुन्छ । उहाँको पनि जीउको लुगा बाहेक केही छैन । आगोले घरगोठ र पसल नष्ट हुँदा करिव ४० लाखको क्षति गरेको छ । वैशाख ८ गतेको आगलागीको कारण पाठ्यपुस्तक जलेपछि इस्मा गाउँपालिकाका विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको हो । इस्मा गाउँपालिका-२, हस्तिचौरका १८ जना विद्यार्थीका पाठ्यपुस्तक, पोशाक र झोला जलेर नष्ट भएका छन् । उनीहरू स्थानीय देविस्थान मावि र जनता प्राविमा अध्ययन गर्थे ।

विद्यालयले भर्ना गरेसँगै किताबहरू पनि वितरण गरेकाले आगलागीबाट नष्ट भएको देविस्थान माविका शिक्षक नारायण मरासिनीले बताउनु भयो । त्यस्तै इस्मा गाउँपालिका-४ को दोहली कोटकोटरीका १३ जना विद्यार्थीका घरगोठसँगै पाठ्यपुस्तक, पोशाक र झोला जलेर नष्ट भएका छन् । उनीहरू चन्द्र आधारभुत विद्यालय र सरस्वती माविमा अध्ययन गर्ने विद्यार्थी हुन् । जङ्गलको आगो बस्तीमा पसेपछि २६ घर, ४९ गोठ र १५ परिवारको गोठ मात्रै जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिकामा आगलागीबाट १ सय ९९ जना प्रभावित भएका छन् । घरगोठ गुमाएका २६ घर परिवारका करिव २ सय नागरिकले आफूले लगाएको लुगा बाहेक केही जोगाउन सकेनन् ।

शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक, पोशाक र झोला जलेपछि विद्यार्थीहरू निराश भएका छन् । इस्मा गाउँपालिकाले हस्तिचौरको जनता प्राविलाई सेल्टर बनाएको छ । सोही ठाउँमा पोशाक जलेका विद्यार्थीहरूको पोशाक निःशुल्क रूपमा सिलाईको व्यावस्था गरिएको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिनुभयो । खड्काले समुदाय, विद्यालय र स्थानीय तह स्तरबाट आगलागीबाट पीडित बालबालिकाको पठनपाठनको सहजताको प्रर्बन्ध गरिने बताउनु भयो ।

Photo25042024Gulmi1


टोपलाल अर्याल