घरेलु हिंसा पीडित महिलालाई इन्सेकको आर्थिक सहयोग

  ०८० जेठ १० गते

घरेलु हिंसा पीडित फालेलुङ गाउँपालिका–६ की ५३ वर्षीया बिमरानी रानी राईलाई उपचारका इन्सेकले आर्थिक सहयोग गरेको छ ।

घरायसी विवादका क्रममा ०८० वैशाख १४ गते ५७ वर्षीय पति शान्तकुमार राईले बामफोक प्रहार गरी घाइते हुनु भएकी पीडितलाई इन्सेक कोशी प्रदेश कार्यालयले ५ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो ।

शरीरका विभिन्न भागमा चोट लागेर घाइते हुनु भएकी पीडितको उपचारमा आर्थिक अभाव भएपछि पीडितको स्वास्थ्य अधिकारलाई मध्यनजर गरी आर्थिक सहयोग गरिएको इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापाले बताउनु भयो ।

इन्सेकले गठन गरेको मानव अधिकार सहायता कक्षमार्फत मानव अधिकार रक्षक, महिला र बालबालिका पीडित भएको अवस्थामा उनीहरूको अवस्था हेरी बिमरानीलाई उपचार र कानुनी न्यायको प्रक्रियाका लागि आर्थिक सहयोग प्रदान गरिएको प्रमुख थापाले बताउनु भयो ।

पत्नीलाई खुकुरी प्रहार गरी अचेत बनाएर आरोपित शान्तकुमारले वैशाख १४ गते झुण्डिएर आत्महत्या गरेपछि बिमरानीको उपचारमा समस्या भएको पीडितका देवर सुनिल वान्तवाले बताउनु भयो ।

घाइतेको अवस्था गम्भीर भएका कारण झापा, विर्तामोडस्थित बि एण्ड सि अस्पतालमा वैशाख १५ गते भर्ना गराएर उपचार गराई रहेको र पीडितको आर्थिक अवस्था कमजोर भएकाले सबैसँग आर्थिक सहयोग जुटाएर उपचार गराइरहेको राईले बताउनु भयो ।

घरेलु हिंसा पीडित बिमरानीको जीवन रक्षाका लागि सुनिल वान्तवाले इन्सेकलाई आग्रह गरेपछि इन्सेकले सहयोग गरेको हो ।


सहमान विश्वकर्मा