घरेलु हिंसा पीडित महिलालाई इन्सेकको सहयोग

  ०७८ पुस २८ गते

बागचौर नगरपालिका –११ हाँडिटार निवासी २८ वर्षीया लक्ष्मी विष्ट वलीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ ।

पति ३० वर्षीय दिपेन्द्र वलीले आफू सहित छोरीलाई भारतमा लिएर बेच्नखोजेपछि भारतबाट फर्किएर न्याय खोज्दै सल्यान पुगेकी महिलाले न्यायिक प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरीदिन भन्दै ०७८ पुस ६ गते निवेदन दिनु भएको थियो ।

पुस ६ गतेको मानव अधिकार सहायता कक्षको बैठकले गरेको निर्णय अनुसार कानुनी प्रक्रियामा जाँदा लाग्ने यातायात र खाजा खर्च स्वरूप पुस २८ गते १५ हजार रूपैयाँ सहयोग रकम प्रदान गरेको इन्सेक प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका कारण पतिसँग सानो छोरीलाई लिएर भारतमा मजदुरी गर्न गएको समयमा पतिले आफूलाई अरूसँग पठाइदिन लागेको थाहा पाएको उहाँको भनाइ छ ।

इन्सेक प्रतिनिधिसँग कुरा गर्दै उहाँले भन्नुुभयो, -‘मैले अब यहाँ बस्दिन, नेपाल फर्किन्छु भन्दा पैसा नभएको ठाउँमा यत्तिकै किन जाने तेसो भए दुई लाखमा छोरीलाई बेचिदिम भनेपछि तुरून्तै नेपाल फर्किएकी हुँ ।’

६ र ४ वर्षीया छोरीलाई आफूसँगै राखेर ०७८ पुस ७ गतेदेखी माइतीमा बस्दै आएको बताउँदै उहाँले पतिले माइतीका सबैलाई मार्ने धम्की दिने गरेको बताउनुभयो ।

सहयोग रकम बुझ्दै पीडित महिलाले अफ्ठेरो परिस्थितीमा इन्सेकले सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नु भयो ।


मिना बुढाथोकी