घरेलु हिंसा पीडित महिलालाई न्याय दिलाउन इन्सेकको पहल,पीडितद्वारा मुद्दा दर्ता

  ०७६ फागुन २१ गते

मिक्लाजुङ गाउँपालिका –४ की ३७ वर्षीया घरेलु हिंसा पीडित समिता राईलाई न्याय दिलाउन इन्सेकले पहल गरेको छ ।

इन्सेकको पहलमा पीडितले ४८ वर्षीय पति ज्ञानबहादुर राई विरूद्ध फागुन १९ गते जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको उजुरी दर्ता गराउनु भएको छ ।

पीडितले फागुन १८ गते इन्सेक जिल्ला प्रतिनिधि मङ्गल बेघा समक्ष पतिले रेखदेख नगर्नुका साथै घरेलु हिंसा गरेकोले न्यायका लागि पहल गरीदिन निवेदन दिनु भएको थियो । पीडितले दिएको निवेदनमा “पतिले रेखदेख नगरेको र छोराछोरीको पालन पोषणमा ध्यान नदिई हिंसा गरेकाले न्यायका लागि पहल गरीदिन” अनुरोध गरिएको छ ।

२०५८ सालमा विवाह भए भई हाल १८ वर्षीया छोरी र १५ वर्षीय छोरा हुँदा समेत पतिसँग पछिल्लो तीन वर्ष सँगै बसोबास नभएको र घरेलु हिंसा गरेको हुनाले सँगैबस्न नसक्ने भएकाले सम्बन्ध विच्छेद गर्नका लागि आवश्यक परामर्श तथा सहयोग गरी पीडितले आग्रह गर्नु भएको छ ।

पीडितले न्यायका लागि दिएको निवेदन अनुसार इन्सेक प्रतिनिधिले फागुन १९ गते पीडित पक्ष, आरोपित पक्ष र जिल्ला बार इकाईका सचिव टिका तिम्सिनासँग छलफल गराएका थिए । छलफलमा छोराछोरीको रेखदेख गर्ने जिम्मा बुबाको हुने गरी सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि बढाउने निष्कर्ष आएको थियो ।

छलफल अनुसार फागुन १९ गते जिल्ला अदालतमा उजुरी दर्ता गरेकोे पीडित राईले बताउनुभयो । पीडितको इच्छा अनुसार आरोपित पक्षलाई बोलाएर सहज रुपमा सम्बन्ध विच्छेदका लागि प्रक्रिया अगाडि बढाइएको अधिवक्ता टिका तिम्सिनाले बताउनुभयो ।


मङ्गल बेघा