घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता

  ०७९ भदौ २२ गते

घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –११ देउवापारकी घर भई सोही नपा–३ धनकौलीस्थित माइती घरमा बस्दै आएकी २७ वर्षीया शसीकला चौतारले इन्सेकको सहयोगमा भदौ २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराउनु भएको छ ।

पीडितले पति ३५ वर्षीय रामदास थारू, ससुरा ६५ वर्षीय लक्षु थारू, सासु ६० वर्षीया सुनारी थारु विरूद्ध जिल्ला अदालत कपिलवस्तुमा माना चामल र अंश मुद्दा दर्ता गराउनु भएको हो ।

पीडित र आरोपितबिच ०७५ माघ २ गते विवाह भएको थियो । विवाह भएको केही समय पछि आरोपितहरूले खानलाउन नदिएको , बिरामी हुँदा र गर्भवती अवस्थामासमेत शारिरीक , मानसिक र आर्थिक हिंसा गर्नुका साथै बिवाह दर्ता र नागरिकता नबनाएको पीडितले बताउनु भयो ।

आफू बिरामी र गर्भवतीदेखि सुत्केरी हुँदा अस्पतालमा औषधि उपचारमा लागेको खर्चसमेत नदिए पछि  माइती पक्षले व्यहोरेको पीडितले बताउनु भयो ।

घर परिवारसँग पटक पटक खर्च माग्दा नदिएको र अन्तिम पटक ०७९ भदौ ४ गते अंश माग्दा घरमा बस्न नदिएपछि माइती घरमा बस्दै आएको पीडितको भनाई रहेको छ ।

माइतीको सहारामा बस्दै आएकी पीडितले अदालतमा माना चामल र अंश सम्बन्धिको मुद्दा दर्ता गर्न आर्थिक तथा कानुनी सहयोगका लागि इन्सेक कपिलवस्तुमा भदौ १५ गते निवेदन दिनु भयो ।

पीडितको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले  जिल्ला कानुनी सहायता समितिसँग समन्वय पश्चात पीडितले  माना चामल र अंश सम्बन्धीको मुद्दा जिल्ला अदालतमा दर्ता गराउनु भयो ।


पार्वती आचार्य