घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग

  ०७९ चैत १२ गते

घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ ।

मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको रोहवरमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले ८ हजार रूपियाँ र समूहका सचिव कमलेश त्रिपाठीले ५ सय रूपियाँ गरी ८  हजार ५ सय रूपियाँ चौधरीलाई सहयोग हस्तान्तरण गर्नु भएको हो ।

पीडितले पति २९ वर्षीय विवेक मल्ल, ससुरा ५२ वर्षीय मनु मल्ल, सासु ४८ वर्षीया अन्जु मल्ल र देवर २६ वर्षीय असिम मल्ल विरूद्ध जिल्ला अदालत कपिलवस्तुमा माना चामल र अंश मुद्दा दर्ता गराउनु भएको हो ।

पीडित र आरोपितबिच ०७४ फागुन २९ गते प्रेम विवाह भएको थियो । एक वर्ष पछि पीडितका पति बैदेशिक रोजगारकालागि बहराईन जानु भयो । दुई वर्षसम्म एक दुई पटक सामान्य खर्च पठाएपनि सम्पर्क बिहिन भएको पीडितले बताउनु भयो ।

घरमा सासु ससुराले खान लाउन नदिने , बिरामी हुँदा उपचार खर्च नदिने , शारिरीक, मानसिक र आर्थिक हिंसा गर्नुका साथै बिवाह दर्ता , नागरिकता र छोरीको जन्म दर्ता समेत नबनाएको पीडितले बताउनु भयो ।

हल माइतीको सहारामा बस्दै आएकी पीडितले अदालतमा माना चामल र अंश सम्बन्धी मुद्दा दर्ता गर्न आर्थिक तथा कानुनी सहयोगका लागि इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुमा फागुन २ गते निवेदन दिनु भएको थियो ।

मानव अधिकार समूहले फागुन ३ गते पीडितलाई सहयोग गरिदिन भन्दै इन्सेक कपिलवस्तुलाई  सिफारिस गरेको र पीडितले फागुन ४ गते इन्सेक प्रतिनिधिलाई समेत सहयोगकालागि निवेदन दिनु भएको थियो ।

पीडितको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले जिल्ला कानुनी सहायता समितिसँग समन्वय पश्चात फागुन ११ गते पीडितले माना चामल र अंश सम्बन्धीको मुद्दा जिल्ला अदालतमा दर्ता गराउनु भएको थियो ।

यसैगरी, कपिलवस्तु नगरपालिका –४ छोड्की तौलिहवाकी १४ वर्षीया जानकी रैदासको शैक्षिक तहमा  निरन्तरता दिनका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ ।

अति विपन्न अवस्थाका कारण शैक्षिक सामाग्री जुटाउन नसक्दा रोकिएको शिक्षालाई निरन्तरता दिन पाएपछि रैदास खुशी भयो ।

घरको आर्थिक अवस्था कमजोर भएकी रैदास श्री तौलेश्वर नाथ माबिमा कक्षा– ८ मा अध्ययन गर्नु हुन्छ । इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मी र समूहका सदस्य कृष्ण अग्रहरीको रोहवरमा ८ हजार रूपियाँ हस्तान्तरण गर्नु भएको हो ।

रैदासलाई मासिक शुल्क बुझाउन नपरे पनि शैक्षिक सामाग्रीहरू खरिदर स्कूल पोषाकको लागि समस्या भएको भन्दै मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीलाई  माघ २२ गते निवेदन दिनु भएको थियो ।

मानव अधिकार समूहले इन्सेक जिल्ला प्रतिनिधिलाई शिक्षालाई निरन्तरता दिन आर्थिक सहयोग उपलब्ध गराइदिन भन्दै माघ २५ गते निवेदन सहित सिफारिस गर्नु भएको थियो ।


पार्वती आचार्य