घरेलु हिंसा घटनाका आरोपित पति गिरफ्तार

  २०८१ जेठ ९

भिमदत्त नगरपालिका–१० गड्डाचौकीकी ३५ वर्षीया जानकी टमट्टालाई सार्वजनिक स्थानमा अश्लिल शब्दहरु प्रयोग गरी गालिगलौज गर्दै कुटपिट गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति शुरेस टमट्टालाई ०८१ जेठ ८ गते गिरफ्तार गरेको छ ।

आफूलाई कुटपिट गरी घाइते बनाएको र खान लाउन नदिई घर निकाला समेत गरेको भन्दै पीडित महिलाले जेठ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएकोले आरोपित पतिलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर मुद्दाफाँटका प्रहरी जवान अनिता पासवानले बताउनु भयो ।

मादक पदार्थ सेवन गरी दिनहुँ गालिगलौज गर्ने, खानलाउन नदिई घर निकाला गर्ने र कुटपिट गर्ने गरेको कारण एक सातादेखि भिमदत्त नगरपालिका–१८ सालघाँडीस्थित देवरको घरमा बस्दै आएको अवस्थामा जेठ ८ गते सार्वजनिक स्थलमा मुक्का प्रहार गरी बाटोमा लडाएर निर्धात कुटपिट गरेपछि पति विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन बाध्य भएको पीडित महिलाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

लामो समयदेखि पटकपटक कुटपिट गर्ने, अपशब्द बोल्ने, हातपात गर्ने र घर निकाला गरीे मानसिक यातना दिने गरेका कारण पति विरुद्ध पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको अल्पकालिन सेवा केन्द्रकी संयोजक मञ्जु केसीले जानकारी गराउनु भयो ।

कुटपिटबाट घाइते हुनुभएकी पीडित महिलाको स्वास्थ्य उपचार जेठ ८ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।


लिली कुँवर